कपिलवस्तु नगरपालिका ८ का विजयबहादुर कुर्मीको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन्। १८ वर्षीय कुर्मीको शव गत असार ७ गते कपिलवस्तु ८ पुर्व डिह बेलौहवास्थित पोखरीमा फेला परेको थियो।
शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले स्थानीय ३२ वर्षीय रमेश कहार, भाइ अनिल कहार र उनकी श्रीमती बास्मती कहारलाई पक्राउ गरेको हो।
घटना विवरण अनुसार असार ३ गते छिमेकीको विवाहमा गएका अनिल कहार ४ गते विहान घर फर्किँदा कुर्मीलाई कोठामा देखेपछि हत्या गरेका हुन्।
आफू नभएको समयमा कुर्मीलाई कोठामा भेटेपछि आक्रोशित अनिलले भाइ रमेश र श्रीमती बास्मतीको मिलेमतोमा कुटपिट गरी हत्या गरेर पोखरीमा फालिदिएको प्रहरीले जनाएको छ।
कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार कुर्मीले बास्मतीसँग शारीरिक सम्बन्ध राखेको भन्दै १ महिना पहिले पनि अनिलले कुटपिट गरेका थिए।
त्यसपछि पनि आफू नभएको मौका पारेर कोठामा आएका कुर्मीलाई कुटपिट गर्नुको साथै उनैले लगाएको धागोको मालाले घाँटी कँसेर हत्या गरी पोखरीमा फालिदिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।
अहिले पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको भण्डारीले जानकारी दिए।