कालीगण्डकी नदी दोहन हुने क्रम नरोकिए भन्दै ‘नदी र यहाँको सभ्यता बचाउँ अभियान’ मा युवा जुट्न थालेका छन्।
म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जालगायत क्षेत्रमा कालीगण्डकी नदीमाथि चौतर्फी दोहन हुनथालेपछि युवाहरू सामाजिक सञ्जालमार्फत नदी र सभ्यता बचाउ अभियानमा जुटेको अभियन्ता आरके अदिप्त गिरीले बताए।
‘मानव सभ्यता नदी किनारबाट भएको हो। यिनै मानव र जैविक विविधताको अस्तित्व सँग गाँसिएका नदी, खोलाबाट गिटी,ढुङ्गा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था सृजना भएको काली गण्डकी सभ्यता बचाउ अभियान सुरू गर्नु परेको हो’, अभियन्ता गिरीले भने, ‘नदी सभ्यता र जैविक विविधता मास्ने गरी नदीमै डोजर चलाएर अवैध रूपमा ढुङ्गा, गिटी, बालुवा उत्खनन हुने क्रम बढ्दै गएकोले काली गण्डकीको सभ्यता जोगाउन यो अभियान चलाईएको हो।’
नेपालको पुरानो सभ्यतामध्ये एक कालीगण्डकी सभ्यता पनि हो । कालीगण्डकी नदीमा विश्वकै दुर्लभ शालिग्रामसमेत पाइन्छ । हिन्दू धर्मावलम्बीले पवित्रताका लागि जल स्नानसमेत गर्ने कालीगण्डकी नदी पछिल्लो समय भने अवैध दोहनको सिकार भइरहेको छ ।
सरकार र सरोकारवाला निकाय अवैध दोहनमा पनि मूकदर्शक प्रायः देखिन्छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीलाई अन्य नदीभन्दा अझ बढी महत्वपूर्ण मानिन्छ । विश्वकै दुर्लभ शालिग्राम पाइने नदी पछिल्लो समय मनपरी दोहन हुँदा शालिग्राम लोप हुने अवस्थामा पुग्न थालेको छ भने नदीले धारै परिवर्तन गर्दा बेनी बजार, मालढुङ्गालगायतका बस्ती कटानको जोखिममा परेका छन् ।
गिरीले नदीमा अवैध रूपमा उत्खनन गर्ने कार्य रोक्न र कालीगण्डकी सभ्यता बचाउन सबै जुट्न युवाहरूले आव्हानसमेत गरेका छन्। सरकारले नदी ठेक्कामा दिएर सभ्यता मास्न लागेको भन्दै गण्डकी प्रदेशको नामसँग जोडिएको काली गण्डकी र यहाँको सभ्यता जोगाउन स्थानीय, प्रदेश र सङ्घ सरकारले ध्यान दिनु पर्ने युवाको माग छ।
‘जनप्रतिनिधिहरू नै नदी दोहन कार्यमा अप्रत्यक्ष रुपमा संलग्न हुनु, स्थानीय, प्रदेश र सङ्घ कुनै सरकारले पनि अवैध रूपमा उत्खनन भएका क्षेत्रको अनुगमन नगर्नु थप चिन्ताको विषय भएको छ’, गिरीले भने, ‘कालीगण्डकी केबल नदी होइन। सभ्यता हो, संस्कृति हो र हाम्रो जीवन हो। कालीगण्डकीको दोहन हाम्रो सभ्यतामाथिको दोहन हो, हाम्रो सन्ततिको गला निमोठ्नु हो।’
गण्डकी प्रदेश सरकारको २०७८/०७९ को नीति तथा कार्यक्रममा वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा गिट्टी र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने नीति लिएको छ।
ठेक्कामा दिएका नदीबाट तोकिएका मापदण्ड भन्दा बाहिर गएर काम भए नभएको अनुगमन नै नहुनु नै सबैभन्दा चिन्ताको विषय भएको विज्ञ बताउँछन्। नदीबाट गिटी, ढुङ्गा, बालुवा अधिक दोहन गर्ने तर संरक्षण क्षेत्रमा काम नै नहुनु थप चिन्ताको विषय भएको संरक्षणकर्मी बताएछन् ।
नदी सभ्यता, जैविक विविधताको ख्यालै नगरी एकोहोरो नदी दोहनले विनाश निम्त्याउने निश्चित छ भन्दै युवाहरू काली गण्डकी र काली गण्डकीको सभ्यता जोगाउने अभियानमा लागेका हुन्।