काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा आयोजना गरिएको १८ दिन लामो निःशुल्क खाना वितरण अभियान समापन भएको छ। बीपी स्टडी युथ सर्कलको आयोजनामा भएको बिहान र साँझ खाना वितरण कार्यक्रम सोमबार सम्पन्न भएको हो।
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ शाहीको नेतृत्वमा भएको अभियानमा ऋषि कोइराला, सुमन गिरि, सुबास कट्टेल लगायत युवा नेताहरुको संलग्न थिए। १८ दिनमा कुल ९ हजारभन्दा बढी व्यक्तिहरुलाई नि:शुल्क रुपमा खाना वितरण गरिएको आयोजकले जनाएका छन्।
सोमबार बिहान गायक युवराज चौलागाईको हातबाट खाना वितरण गरिएको थियो। खाना वितरणपछि बोल्दै गायक चौलागाईले भने, 'यस्तो संकटको बेला सहयोग गर्नु हामी सबैको धर्म हो।'
मंगलबार साँझ समापनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमीरे, वीपी युथ सर्कलका सल्लाहाकार भुपेन्द्रजङ शाही, वीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइराला लगायत उपस्थित थिए। समापन कार्यक्रममा यो अभियानलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई खादासहित सम्मानपत्र प्रदान गरिएको थियो।
युथ सर्कलका सल्लाहाकार समेत रहेका भुपेन्द्रजङ शाहीले अभियानमा सहकार्य गर्न सबैलाई धन्यवाद दिँदै युवा समूहले बाढी प्रभावित मेलम्ची क्षेत्रमा पनि राहत तथा खाद्यन्न वितरण गर्ने जानकारी दिएका छन्। यो अभियानका कोही पनि भोको बस्न नपरोस् भन्ने उद्देश्यले शुरु गरिएको आयोजकको भनाइ छ।