कोभ्याक्सले एक डोज मात्र लगाए पुग्ने 'जोन्सन एण्ड जोन्सन' को ६ लाख डोज खोप नेपाललाई दिने प्रतिवद्धता जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले दुई दिनअघि मात्र 'जोन्सन एण्ड जोन्सन' को ६ लाख डोज खोप दिने जानकारी गराएको बताए।
'६ लाख डोज दिने भन्ने कुरा भएको छ। यहाँबाट पनि लिने भन्ने कुरा भएको छ,' डा. उप्रेतीले भने।
अमेरिकी कम्पनीले विकास गरेको उक्त खोप एक डोज मात्र लगाए पुग्छ। जबकि हालसम्म नेपालमा लगाइएको सबै खोप दुई डोज लगाउनुपर्ने खालका छन्। अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एन्ट्रेजेनेकाले विकास गरेको 'कोभिसिल्ड' र चिनियाँ कम्पनी सिनोफार्मेले विकास गरेको 'भेरोसेल' नामक खोप लगाइएको छ।
त्यसैले अमेरिकी कम्पनीले विकास गरेको उक्त खोप नेपालमा पहिलोपटक आउन लागेको हो। हालसम्म उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति नदिइसकेको अवस्थामा डा. उप्रेती भन्छन्, 'डब्लुएचओले मान्यता दिइसकेकोले यहाँ पनि भइहाल्छ। उताबाट खोप आउनुअघि यहाँ अनुमति दिने काम सकिहाल्नुपर्छ।'
साथै, कोभ्याक्स कार्यक्रममार्फत् नै यही जुलाइ अन्तिमसम्म एस्ट्रेजेनेकाको ३ लाख ४८ हजार डोज खोप आउने डा. उप्रेतीले जनाए।
उनले यसअघि पनि कोभ्याक्सले पहिलो चरणमा ३ लाख ४८ हजार खोप नै पठाएको भन्दै त्यसैको दोस्रो मात्राका लागि त्यति नै खोप पठाउन लागेको बताए।
त्यसबाहेक सरकारले चीनबाट ४० लाख डोज खोप किन्ने निर्णय गरिसकेको छ। यद्यपि चीनले खोप उपलब्ध गराउनेबारे कुनै जवाफ दिएको छैन।
खोप शाखाका अनुसार १३ लाख बढी मानिसले खोपको दोस्रो मात्रा लगाउन बाँकी छ। १२ सातासम्ममा दोस्रो मात्रा लगाउनुपर्नेमा खोप नहुँदा दोस्रो मात्रा लगाउन सकिएको छैन।