म्याग्दीको विकट मालिका गाउँपालिकाका पहिरो पीडितलाई माउन्टेन हर्ट नेपालले खाद्यान्य तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ।
रसुवा ट्रेकका सञ्चालक तथा युवा समाजसेवी गगनराज न्यौपानेका अनुसार माउन्टेन हर्ट नेपालका अध्यक्ष डाक्टर अबन गौतमको विशेष सहयोगमा पहिरोग्रस्त क्षेत्रका ५० घर परिवारलाई प्रतिघर २५ केजी चामल, ३ केजी दाल, यस्तै चना, चिनी, नुन, चाउचाउ लगायत खाद्य सामाग्री वितरण गरेको हो।
पहिलो पीडितका लागि तत्काल बस्नका लागि ७० वटा त्रिपाल तथा एन ९५ मास्क १००० थानसमेत गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकालाई हस्तान्तरण गरिएको न्यौपानेले जानकारी दिए।
यसअघि पनि डाक्टर गौतमले कोरोनाविरूद्ध लड्नका लागि भन्दै ७ वटा अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिसका थिए।
काठमाडौंबाट म्याग्दीको विकट गाउँसम्म यी सामाग्री पुर्याउन पर्यटन व्यवसायी तथा समाजसेवी विजय पौडेल र युवा व्यवसायी अकिन श्रेष्ठले सहयोग गरेका थिए।
यस्तै म्याग्दीकै अर्को दुर्गम मंगला गाउँपालिका को तुसारपानीमा माउन्टेन हर्टले ३ थान अक्सिजन कन्सन्ट्रेटर र १००० थान एन ९५ मास्क गाउँपालिकाका उपाध्यक्ष श्रीजना केसी र वडाध्यक्ष डेकबहादुर रम्जालीलाई युवा पर्यटन व्यवसायी गगन राज न्यौपाने र छकेन्द्र पुनले हस्तान्तरण गरेका छन्।
मोटरबाटो नपुगेको म्याग्दीको दुर्गम यो ठाउँका स्थानीयले प्राप्त स्वास्थ्य सामाग्रीबाट लाभ लिन उपाध्यक्ष केसीले बताइन्।
यहाँ मोटरबाटोबाट उक्त सामाग्रीहरू लैजान गाह्रो परिरहेको बेला जिल्लाका समाजसेवी मुक्ति प्रसाद रोकाले गाउँपालिकाको हकहितका लागि आफ्नै खर्चमा हेलिक्प्टर चार्टर गरेका थिए।
रोकाले यसअघि पनि मास्क, सेनिटाइजरलगायत विभिन्न स्वास्थ्य सामाग्रीहरू स्थानीयलाई वितरण गरेका थिए। यस्तै गाउँको स्वास्थ्य र शिक्षामा उनले विशेष सहयोग गर्दै आउका छन्।
वर्खा सुरू हुनेबेलामै सिन्धुपाल्चोकको मेलम्ची र मनाङमा गएको बाढी र पहिरोबाट पाठ सिक्दै समयमै आफूहरूले पनि सावधानी अपनाउनुपर्ने गाउँपालिकाका अध्यक्ष श्री प्रसाद रोकाले जानकारी दिए।
यसैबीच अध्य रोकाले पालिकाका जनतालाई कुनै समस्या नहोस् भनेर जन सुरक्षाका लागि विशेष टोली बनाएको भन्दै केही समस्या परेमा तत्काल खबर गर्न आग्रह गरेका छन्। रोकाले आफ्नै पहिलमा यसअघि ५० बोरा चामल पीडितलाई वितरण गरेका छन्।