बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जनकौली मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट रत्ननगर–५ मगरटोलकी गीता अधिकारीको मृत्यु भएको हो।
वन भित्र निहुरो टिप्न गएकी ३२ वर्षीया अधिकारीको दिउँसो साढे १ बजेतिर बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो।
यसैबीच मान्छेको ज्यान गएको घण्टौंसम्म पनि चितवन निकुञ्जले नरभक्षी बाघलाई नियन्त्रणमा लिएर मृतकलाई बाहिर नल्याएको भन्दै आक्रोशित स्थानीयले निकुञ्ज कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्।
सौराहास्थित चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालयमा जम्मा भएका स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै फर्निचरमा आगजनी गरेका छन्।
चितवन निकुञ्ज कार्यालयले भने बाघलाई डार्ट (सुई लगाएर बेहोस बनाउने) गरेर नियन्त्रणमा लिने तयारी भइरहेको जनाएको छ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बाघलाई डार्ट गर्नु सजिलो काम नभएको भन्दै यसको तयारीका लागि केही समय आवश्यक पर्ने भएकाले ढिलो भएको बताए।
‘हामीसँग भएका हात्तीहरु जंगल गएको बेला पर्यो, ती हात्तीलाई फर्काएर ल्याउन केही समय लाग्यो,’ उनले भने, ‘हामी खबर पाएबाटै तयारीमा लागिरहेका छौं तर स्थानीयबासी कुरो नबुझेर तोडफोडमा उत्रनुभयो।’