सरकारी कार्यालय सञ्चालन र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो।
समितिको निर्णय अनुसार जिल्लामा निजी सवारी साधनको सञ्चालनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिए पनि सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालनलाई भने रोक लगाइएको छ।
मंगलबारदेखि जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको निजी सवारी साधन सञ्चालन गर्न पाइने छ।
बैठकले विवाहको लागि दुइटा साना सवारी साधनमा बढीमा १० जनासम्म जन्ती जान पाइने भए पनि भेला, भीडभाड, महोत्सव, सभा, जुलुसलगायत मानिसको भीडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न पाइने छैन।
त्यस्तै होटल, पार्टी प्यालेस तथा रेस्टुरेन्ट खोल्न, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी संचालन गर्न पनि रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले आन्तरिक नित्य पूजा बाहेकका सबै धार्मिक सांस्कृतिक गतिविधि सञ्चालनमा पनि रोक लगाइएको बताए।