सार्वजनिक यातायातको पास बनाई बिक्रि गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा सवारी साधनको पास दुरूपयोग गरी खरिद बिक्री गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर जरीवाना गराएको हो।
निषेधाज्ञाको क्रममा अत्यावस्यक कामका लागि सहजता होस् भनी जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सवारी पासको व्यवस्था गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको सोही सवारी पासलाई रंगीन फोटोकपी गरी बिक्रि गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई १ लाख ५५ हजार रुपैयाँ जरीवाना समेत गरेको छ ।
बुटवलमा होटल सञ्चालन गर्दै आएका विनोद घिमिरे, रोलक बहादुर बुढाक्षेत्री र बिपिन काफ्लेलाई पास बिक्रि गरेको आरोपमा प्रति ब्यक्ति ५० हजार र उक्त पास खरिद गर्ने यातायात ब्यवसायी मनोज गैरेलाई ५ हजार रूपैया जरीवाना गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनीहरुले नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गरी कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरित हुने गरी कार्य गरेको पाईएकोले सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम ४ जनालाई सजाय तथा जरीवानाका लागि पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले बताए ।