सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला पक्राउ परेकी छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौलालाई काठमाडौंको टेकूबाट आइतबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।
उनीसहित तीन जनालाई प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो।
उनीहरूविरूद्ध खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। छलफलको क्रममा प्रहरी कार्यालयमै ज्वाला संग्रौला लगायतले खुस्बुमाथि कुटपिट गरेका थिए। त्यसै विषयमा खुस्बुले जाहेरी दिएपछि पक्राउ परेकी हुन्।
केही समयअघि खुस्बुले संग्रौलाबारे फेसबुकमा स्टाटस लेखेकी थिइन्। सोही विषयमा संग्रौलाले खुस्बुविरूद्ध जाहेरी दिएकी थिइन्।
त्यतिबेला मिलापत्र भए पनि फेरि विवाद भएको थियो। संग्रौला लगायतले आफूमाथि कुटपिट गरेको भन्दै खुस्बुले जाहेरी दिएकी हुन्।
संग्रौलासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय समेत पक्राउ परेका छन्। यस घटनामा संलग्न अरू दुई जना पक्राउ पर्न बाँकी भएको सिंहले बताए।
ज्वाला संग्रौलाले केही समयअघि महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षकलाई सरूवा गर्ने भन्दै चेतावनी दिएको भिडिओ सार्वजनिक भएपछि एकाएक चर्चामा आएकी थिइन्। उनले जातीय दुर्व्यवहार गरेर प्रहरीलाई सरूवा गर्ने धम्की दिएकी थिइन्।