काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर, उपमेयरसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति तथा कार्यक्रमबारे अध्ययन गर्न दुई दिनको समय मागेपछि छलफल दुई दिनका लागि स्थगन भएको थियो।
आजको छलफलमा उपमेयरसहित कांग्रेस निकट वडाध्यक्षले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए। शाक्यले सुझाव ग्रहण गर्दै बैठक आरम्भ गरेका थिए।
शाक्यले सुझाव ग्रहण गर्दै उपमेयरसहित सबै वडाध्यक्षलाई पार्टीको प्रतिनिधिभन्दा पनि जनप्रतिनिधिका हैसियतमा काम गर्न सुझाव दिए। ‘हाम्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट ल्याउँदैछौँ। विगतका वर्षमा सबै निर्णयहरु सर्वसम्मतिमा भए,’ शाक्यले भने, ‘कुनै दलको टिकट लिएर हामी निर्वाचनमा उम्मेदवार बन्यौँ होला तर, निर्वाचन जितेपछि हामी जनप्रतिनिधि हौँ।'
आफू मेयर निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा नगरेको उनले बताए। उनले भने 'त्यसैले तपाईंहरु पनि दलको भन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला, म पनि त्यहीं गर्छु र गरिरहेको छु।’
शाक्यले आन्तरिक समस्यालाई छलफलका माध्ययमबाट हल गर्न सकिने भन्दै अनावश्यक रुपमा मिडियावाजी नगर्न पनि सुझाव दिए। ‘सबैको उपस्थितिमा सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित गर्नुपर्छ भनेर दुई दिन स्थगन गरेँ' उनले भने 'उहाँहरूलेआजको बैठकमा केही सुझाव राख्नुभयो। धेरैजसो सुझाव नीति तथा कार्यक्रममा समावेश भैसकेका छन्। केही सुन्दा लोकप्रिय जस्ता सुनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न सम्भव नहुने सुझाव छन्। सम्भव हुने सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्ने छौँ।’
प्रमुख शाक्यले नीतितथा कार्यक्रममा राजनीतिक लेप दिन नहुने सुझाव दिए। ‘असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यता छ,’ उनले भने ‘नीति तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन। अझ सघन अध्ययन गरेर उहाँहरुको सुझावलाई समेत सारकात्मक रुपमा लिदैँ थप बलियो बनाएर जान्छौँ।’
शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने , महानगरवासीलाई ‘नागरिक स्वास्थ्य बीमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको बताए।