काभ्रेमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन्।
बिहीबार राति बनेपा नगरपालिका वडा नम्बर ११ सिनाथालमा आमा र छोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
पाँचखाल नगरपालिका वडा नम्बर ६ घर भई बनेपास्थित एक घरमा डेरा गरी बसिरहेका ३० वर्षीया मनिषा कार्की र ६ वर्षीय छोरा युवान घिमिरे मृत अवस्थामा फेला परेका हुन्।
आमा-छोरा मृत फेला परेको भन्ने खबरपछि प्रहरीले मृतककी श्रीमानलाई पक्राउ गरेको डिएसपी खतिवडाले बताए।
३३ वर्षीय श्रीमान् माधवप्रसाद घिमिरे प्रहरीको नियन्त्रणमा छन्। उनलाई प्रहरीले अन्यत्रबाटै पक्राउ गरेको प्रहरीले बताएको छ। अहिले उनी शिर मेमोरियल अस्पतालमा छन्।
‘मृतकहरूले विष खाएको भनेका छन्। श्रीमान आफैंले पनि विष खाएको भनेको भएर अहिले अस्पतालमा राखिएको छ,’ डिएसपी खतिवडाले भने, ‘ट्याब्लेटहरू भेटिएको, बान्ता गरेको हेर्दा विष खाएको हो की भन्ने लागेको छ। हामी यसमा थप बुझ्दैछौं।’
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ। पोष्टमार्टमको लागि मृतक दुबैको शव धुलिखेल अस्पतालमा राखिएको छ।