बाराका एक प्रमुख प्रशासकीय अधिकृतसँग १५ लाख फिरौती माग्नेलाई प्रहरीले पक्राउ गरेको छ।
फिरौती मागेको आरोपमा सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादवलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
यावद गाउँपालिकाकै कार्यालय सहयोगी हुन्। उनले आफ्नै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविनकुमार श्रीवास्तवलाई धम्क्याएका थिए।
श्रीवास्तवलाई एनसेलको अपरिचित नम्बरबाट फोन तथा म्यासेज आएको थियो। यादवले श्रीवास्तवसँग १५ लाख रुपैयाँ एक घण्टामा नदिए गोली हानेर हत्या गर्ने भन्दै धम्क्याएका थिए।
त्यसरी यादवले पटकपटक धम्क्याएपछि श्रीवास्तवले अडिओसहित प्रहरी कार्यालयमा सूचना दिएका थिए।
'केही दिनदेखि उसले त्यसरी फिरौती माग गरिरहेको थियो। अधिकृतले दिन्छु भनेर आलटाल गरिरहेका थिए। तर धेरै पटक धम्की आएपछि प्रहरी कार्यालयमा उजुरी पर्यो,' डिएसपी मिश्रले भने।
प्रहरीले सेवा प्रदायक कम्पनीको प्राविधिक सहयोगमा अनुसन्धान गर्दा पछि मुकेशप्रसादले फिरौती मागेको खुलेको हो।
'हामीले अनुसन्धान गरिरहेका छौं। उसले प्रशासकीय अधिकृत सम्पन्न मान्छे भएकाले धम्कि दिनासाथ पैसा पाइन्छ भन्ने सोचेर त्यसरी फिरौती रकम मागेको देखिन्छ,'डिएसपी मिश्रले भने।
प्रहरीले यादवलाई अपराधिक लाभ मुद्दामा थप अनुसन्धान गरिरहेको छ।