गृह मन्त्रालयमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ।
साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, गैरसरकारी संस्था परिचालन सम्वन्धी कार्यविधि र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धी कार्यविधि बुधबार पारित भएको हो।
गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा उनले बाढीपहिरोको जोखिम बढेकोले तत्काल राहत तथा उद्धारमा खटिन माहतहतका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले बताए।
सिन्धुपाल्चोक सहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल उद्धार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाइ निर्देशन दिइएको छ।
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ भने मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट क्षतिहरू भएका विवरण आइरहेका छन्।
बैठकमा सुरक्षा निकायले बाढीपहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई ब्रिफिङ गरेका थिए।
भिडिओ: