सात विकसित राष्ट्रको समूह ‘जी– ७’ का नेताहरूले चीनलाई टक्कर दिँदै न्यून र मध्यम आय भएका राष्ट्रहरूलाई पूर्वाधार निर्माणमा सहयोग गर्न योजना बनाउने भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका समर्थित राष्ट्रहरूको सहयोगमा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार चीनको भन्दा उच्च गुणस्तरको वैकल्पिक योजनामा अघि बढ्न मन भएको बताएका थिए। यो चिनियाँ कार्यक्रमको विकल्प हुने उनको भनाइ छ।
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) ले विभिन्न राष्ट्रलाई रेलमार्ग, सडकमार्ग र बन्दरगाह बनाउन आर्थिक सहयोग गरेको छ। तर यसको ऋण सहयोग सम्झौताबारे आलोचना हुँदै आएको छ। अमेरिकाले चिनियाँ कार्यक्रमलाई 'ऋण कूटनीति' भन्ने गरेको छ।
जी-७ को विज्ञप्तिमा यो योजनामार्फत् उच्चस्तरीय र पारदर्शी साझेदारीको प्रस्ताव राख्ने बताइएको छ। जी-७ ले कसरी आर्थिक सहयोग गर्छ भन्नेबारे विस्तृत विवरण खुलाएको छैन।
जी-७ ले कोरोना महामारी नियन्त्रणमा लिनेबारे पनि नयाँ योजना बनाउन प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ। जी ७ राष्ट्रहरुमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, इटली, जर्मनी र जापान पर्छन्।