काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर अश्विन श्रेष्ठले होटल सञ्चालन गरेको पाइएको हो।
उनले आइतबार बिहान करिब ३ बजे निषेधाज्ञाको उल्लंघन गर्दै भेला जम्मा गरी होहल्ला गरेको पाइएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले सञ्चालकसहित ९ जनालाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई पक्राउ गरी कारबाहीको लागि प्रशासनमा बुझाउँदा भोजपुरका २५ वर्षीय सञ्चालक श्रेष्ठलाई चार लाख जरिवाना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।
त्यस्तै, प्रशासनले त्यही होटलबाट समातिएका दुई जना विदेशीसहित आठ जनालाई १५ हजारका दरले जरिवाना तिराएको छ। दुई जना विदेशी क्रोएसिया र अजरबैजनका नागरिक भएको परिसरले जनाएको छ।