बारा जिल्ला साविक अमलेखगञ्ज गाविसका तत्कालीन सचिव विजयकान्त झाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झासँग दुई लाख ८१ हजार ७३५ रुपैयाँ बिगो माग्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
झाले आफ्नो गाविसमा आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा विनियोजित बजेटमध्ये सो बराबरको रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
अमलेखगञ्ज गाविसमा छुट्याइएको बजेटबाट निर्माण थालिएको कल्भर्टमा १ लाख ३४ हजार २३५ रुपैयाँ बढी भुक्तानी गरेको र शौचालय र सिलाइकटाइ तालिममा विनियोजन गरेको बजेटबाट १ लाख ४७ हजार ५ सय रुपैयाँ हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ।
गाविसमा सञ्चालित योजनामा बढी मूल्यांकन गराएर सो रकम भ्रष्टाचार गरेको देखिएपछि झाविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत् जनाएको छ।