जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने होटल सञ्चालकलाई २५ हजार रूपैयाँ जरिवाना तिराइएको छ।
निषेधाज्ञा अवधिमै होटल सञ्चालन गरेको आरोपमा अर्जुनधारा-११ बुट्टाबारीको सुक्रात होटल तथा लजका सञ्चालक मोहनकुमार प्रसाईंलाई जरिवाना तिराइएको हो। उनलाई इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय झापा बुझाएको थियो।
कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश बमोजिम प्रसाईंलाई २५ हजार जरिवाना गराइएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
झापामा कोरोनाको दोस्रो लहरका कारण संक्रमणदर उच्च रहेको भन्दै झापा प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञाको समय बढाएको छ।
निषेधाज्ञा कार्यान्वयनका लागि झापा प्रहरीले पूर्वपश्चिम राजमार्ग तथा जिल्लाका भित्री सडकसँग जोडिएका बजारहरू अनुगमन गरिरहेको छ।
होटल लगायत अन्य पसलहरू झापामा ठप्प छन्। किराना पसल हप्तामा दुई दिन दुई घण्टाका लागि खोलिएका छन्। प्रशासनले तोकेबाहेकको समयमा जिल्लामा निषेधाज्ञाको पूर्ण कार्यान्वयन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका प्रसाईंलाई पटकपटक अनुरोध गर्दा पनि अटेर गरेकाले पक्राउ गरी कारबाही गरिएको डिएसपी थापाले बताए।