कैलालीमा आफ्नै साथीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मंगलबार प्रहरीले कैलारी गाउँपालिका वडा नम्बर ४ घर बताउने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
उनीमाथि लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरस्थित डेरामा बस्ने ३६ वर्षीय विशाल बुढाथोकीको हत्याको आरोप छ।
उनी सोमबार दिउँसो ४ बजे मोतिपुरस्थित डेरामा मृत अवस्थामा फेला परेका थिए। उनको टाउको पछाडी चोट लागेको थियो। उनी विगत एक महिनादेखि पदमबहादुर बुढा क्षेत्रीको घरमा डेरा लिएर बस्थे।
प्रहरीले घटनाको अनुसन्धान गर्दा उनीसँगै बस्ने सोमबहादुर बस्नेत फरार रहेको खुलेको थियो।
सो खबरपछि इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले वीरेन्द्र सामुदायिक वनबाट पक्राउ गरेको हो।
प्रनाउ बिष्टका अनुसार विशाल र सोमबहादुरले गत आइतबार राति सँगै बसेर मदिरा सेवन गरेका थिए। उनीहरू दुबै जना ज्याला मजदुरी गर्थे।
सँगै बसेर मापसे गरेका उनीहरूबीच बिबाद भएको थियो। बिबादकै क्रममा फलामको सोमबहादुरले फलामको कर्नीको प्रयोग गरी विशालको टाउकोमा हिर्काएर हत्या गरेको डिएसपी विष्टले बताए।
'उनीहरूबीच हत्या गर्नुपर्ने गरी ठूलो बिबाद केहि पनि भएको थिएन। मापासे गर्यो सानोतिनो बिबादकै क्रममा टाउकोमा हिर्काएछन्। रगत धेरै बगेरै विशालको मृत्यु भयो,' उनले भने, 'घटनापछि रातभरी सँगै सुतेका थियौं, अझै मरेको छैन भन्दैछन्।'
विशालको मृत्युपछि सोमबहादुर घटनास्थलबाट फरार भएका थिए।
मृतकको वास्तविक पहिचान भने अझै पनि नखुलेको प्रहरीले जनाएको छ।
'सोमबहादुरले आफ्नो वास्तविक घर कहाँ हो पनि भनेको छैन। घरको ठेगाना भनेका त छन् तर हाम्रो टोली पुग्दा त्यो ठाउँमा घरै छैन। त्यस्तो भएको छ,' विष्टले भने,' मृतकको पनि त्यस्तै भइरहेको छ। परिवार पनि भेटिएको छैन।'
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ। हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार सोमबहादुरलाई अदालतमा लैजाने तयारी छ।