काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटनसँगै आईसोलेशन सेन्टरको निरीक्षण गरेको हुन् । काठमाडौं लोकन्थलीस्थित मुनरक ईन्टरनेशनल प्रा.लि ले उक्त प्लान्ट जडान गरेको हो।
उद्घाटनको क्रममा मन्त्री तामाङले चन्द्रागिरी नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिलाई बधाई तथा धन्यवाद समेत दिए। उनले भने, ‘तपाईको नगरपालिका आज अक्सिजनमा आत्मनिर्भर बनेको छ। यो खुशीको खबर हो। तपाईहरु सबै जना यसको लागि धन्यवादको पात्र हुनुहुन्छ।’
उनले अक्सिजन प्लान्ट जडान गरेर आफ्नो जिल्ला सिन्धुपाल्चोकलाई पहिलो जिल्ला बनाउने प्रयास गरेपनि चन्द्रागिरी नगरपालिका पहिलो भएको भन्दै पुनः बधाई दिए ।
सरकारले देशव्यापी रुपमा अक्सिजनको कुनै अभाव हुन नदिने पनि प्रतिबद्धता जनाएका छन् । अक्सिजन प्लान्ट जडान गर्नको लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकोले अब कार्यान्वयनको चरणमा जाने उनको भनाई रहेको छ । मन्त्री तामाङले उक्त सामूदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि विश्वास दिलाए । प्लान्टको उद्घाटनको क्रममा मन्त्री तामाङले देशभर नै सबै नागरिकलाई चाँडै कोरोना विरुद्वको खोपको सुनिश्चिता गर्नेगरि काम गरिरहेको बताउँदै मन्त्री तामाङ खोप सुनिश्चित नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे।
कार्यक्रममा अक्सिजन प्लान्ट जडान गर्ने कम्पनी श्री मुनरक ईन्टरनेश्नल प्रा.ली.का प्रवन्ध निर्देशक प्रशान्त झाले तोकिएको समयभन्दा अघि नै आफूहरुले काम सम्पन्न गरेको बताए। उनले प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने पनि जानकारी दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य रमा आलेमगरले पनि अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरिन् । उनले अस्पताललाई आवश्यक सहयोग गर्नसमेत मन्त्री तामाङलाई आग्रह गरेकी छन्।