निषेधाज्ञाको उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वरस्थित सुपरमार्केट भाटभटेनीलाई चार लाख जरिवाना तिर्न आदेश दिएको छ।
प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भाटभटेनीलाई चार लाख जरिवानाको आदेश दिएको जानकारी दिए।
निषेधाज्ञाको उल्लंघन गर्दै भाटभटेनी खोलेपछि कोटेश्वरका म्यानेजर सागर गुरूङलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा खटिएको प्रहरी सहितको टोलीले उनलाई पक्राउ गरेको हो।
कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार व्यक्तिले उल्लंघन गरेमा एक लाख र संस्थाले उल्लंघन गरे पाँच लाखसम्म जरिवाना तिराउन सक्ने प्रावधान छ।
सोही अनुसार भाटभटेनीलाई चार लाख जरिवाना तिराउन आदेश दिएको प्रजिअ पराजुलीले बताए।
निषेधाज्ञाको समयमा ग्राहक आएर किनबेच गर्ने गरेको भन्ने स्थानीयबाट गुनासो आएपछि अनुगमन गर्न टोली खटिएको थियो।
भाटभटेनीले मूल ढोका बन्द गरेपनि अर्को ढोकाबाट ग्राहकलाई जान दिइएको पाएपछि म्यानेजरलाई नियन्त्रणमा लिइएको थियो।
निषेधाज्ञाको अवधिमा बिहान ९ बजेसम्म मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न पाइन्छ।