कामना सेवा विकास बैंक र सामाजिक संस्था मितेरी फाउण्डेशनले चितवनको चेपाङ बाहुल्य क्षेत्रमा खाद्यान्न सहयोग गरेका छन्।
कोरोना महामारीका कारण ग्रामीण क्षेत्रमा खाद्य अभाव देखिन थालेको खबर सञ्चारमाध्यमहरूमा आएपछि यी संस्थाले राहतस्वरुप खाद्यान्न सहयोग गरेका हुन्।
राप्ती नगरपालिकाको कान्दा, मोराङ, कालीखोला, थानडाँडा, ज्यारबाङ, दिमाङडाँडालगायतका गाउँका १०० परिवारलाई खाद्यान्न सहयोग गरिएको फाउण्डेशनका सदस्य बालकृष्ण थपलियाले जानकारी दिए। सो क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको कामना सेवा विकास बैंकसँगको सहकार्यमा खाद्यान्न सहयोग गरिएको थपलियाले बताए।
उनका अनुसार सबै परिवारलाई ३० किलो चालम, ३ किलो नुन, २ किलो दाल र नुन, एक लिटर तेल, आधा किलो मस्यौरा सहयोग गरिएको हो।
राप्तीको वडा नम्बर १३ मा पर्ने यी गाउँहरू चितवनको सबैभन्दा उचाइमा रहेका विकट गाउँ हुन्।
राहत वितरण गर्दै कामना सेवा विकास बैंकका नारायणगढ क्षेत्रका क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले महामारीका कारण समस्यामा परेका समुदायलाई सहयोग गरेको बताए।
उक्त बैंकको नारायणगढ क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रम तथा ब्राण्डिङ संयोजक रहेकी खुरखुरे शाखाकी म्यानेजर विन्दु सिञ्जाली मगरले आगामि दिनमा पनि खाद्यान्न अभाव भएका क्षेत्रहरूमा पुगेर सहयोग गर्न बैंक तयार रहेको बताइन्।
उनका अनुसार सहयोगका लागि बैंकको नारायणगढ क्षेत्रका सम्पूर्ण कर्मचारीबाट संकलित १ लाख ७ हजार ४०० रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको थियो। चितवनमा यस बैंकका १४ शाखा छन्। देशभरमा १२५ बढी शाखा छन्।
मितेरी फाउण्डेशनले भने खाद्यान्न सहयोगका लागि १ लाख १५ हजार रूपैयाँ खर्च गरेको उपाध्यक्ष अनिता खनालले बताइन्। फाण्डेशनले २०६७ सालमा कान्दा गाउँमा विषालु च्याउ खाएर एकाघरका ८ जनाको ज्यान गएको घटना पछि सो क्षेत्रलाई लक्षित गरेर कान्दा रुपान्तरणको अभियान सञ्चालन गर्दै आएको थियो।
सोही अभियानको एक पाटोका रुपमा अहिलेको सहयोग रहेको खनालले बताइन्।
राप्ती-१३ का वडाध्यक्ष सूर्यबहादुर चेपाङले स्थानीय तहमा यसपाली राहत वितरणको योजना नरहेका कारण जनता समस्यामा पर्दा पनि सहयोग गर्न नसकेको बताए।
‘सरकारी निकायले सहयोग गर्न नसकेपनि हामीले सामाजिक संस्थाहरुलाई सहयोगका लागि आह्वान गर्दै आएका छौं,’ उनले भने, ‘यसैपनि कमाईले वर्षभरी खान नपुग्ने यहाँका जनतालाई निषेधाज्ञाले ठूलो समस्यामा पारेको छ।’
६०० भन्दाबढी चेपाङ परिवारको बसोबास रहेको यो वडामा आफैंले उब्जाएको अन्नले वर्षभरि खान पुग्ने एक परिवार पनि नरहेको राप्ती नगरपालिकाको आधिकारिक वेवसाइटमा रहेको वार्ड प्रोफाइलमै उल्लेख गरिएको छ।
१० हजार भन्दा बढी जनसंख्या रहेको यस वडाका बासिन्दाले निषेधाज्ञाका कारण काम काम गुमाउनुपरेपछि दैनिक जीवनयापनमा निकै कठिनाईको सामना गर्दै आएका छन्।
सहयोग प्राप्त गरेपछि कान्दाका सीताबहादुर चेपाङले सरकारले गर्न नसकेको सहयोग अन्यले गरेको बताए। उनले प्राप्त सहयोगले निषेधाज्ञाको अवधिमा जीवनयापनमा ठूलो सहयोग मिल्ने बताए।