ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले हात्तीलाई हेरचाह गर्न १५ लाख सहयोग पाएको छ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले ६९ वर्षको पवनकली हात्तीको हेरचाह गर्न आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानालाई १५ लाख रुपैयाँ दिएको हो।
शनिबार परेको वातावरण दिवसको उपलक्ष्यमा दिने भनिएपनि रकम आइतबार हस्तान्तरण भएको चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेलले जानकारी दिए।
पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण चिडियाखाना बन्द छ। जसकारण जनावरहरूको हेरचाह गर्नमा कठिनाइ आएको छ। चिडियाखानामा अहिले ११ सय भन्दा बढी जनावर छन्।
त्यसैलाई मध्यनजरमा राखेर जावलाखेल ग्रुपले १५ लाख नगद सहयोग गरेको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोषले केही समय अघि 'एडप्ट एन एनिमल' कार्यक्रम लञ्च गरेको थियो। त्यसअन्तर्गत जो कोहीले पनि चिडियाखानामा भएका जनावरहरूलाई 'एडप्ट' गरेर हेरचाह गर्न सकिने प्रमुख पोखरेल बताउँछन्।
'यो सहयोगले पवनकलीको एक वर्षको खर्च व्यहोर्छ। जसमा उसको आहारा, स्वास्थ्य र सुरक्षा पर्छ। कोभिडको महामारीको समयमा उसको हेरचाह गर्नमा थप मद्दत पुग्नेछ,' उनले भने,' उहाँहरूले सहयोग गरे जसरी अरू जो कोहीले चिडियाखानामा भएको हजारौं जनावरहरूलाई एडप्ट एन एनिमल कार्यक्रम अन्तर्गत सहयोग गर्न सक्नुहुन्छ।'
यसो गर्दा जनावरहरूको संरक्षण गर्न थप मद्दत पुग्ने उनले बताए।