दिवंगत छोराको स्मृतिमा भक्तपुरको एक परिवारले सूर्यविनायक नगरपालिका–४, तर्खगालमा उमेश विनायक मन्दिर बनाएको छ। वि.सं. २०७५ असार ११ गते २८ वर्षको उमेरमा निधन भएका उमेश न्यौपानेको सम्झनामा मन्दिर बनाइएको हो।
चोकको खुला पोखरीलाई व्यवस्थित गरेर त्यस माथि मन्दिर बनाइएको हो। मन्दिरभित्र तीन फिट अग्लो गणेशको मूर्ति राखिएको छ। त्यहाँ विष्णु, शिव, सूर्य र देवीका मूर्ति पनि राखिएको छ।
पोखरी सफा गरेर ढुङ्गा छापिएको छ। मन्दिर बनाउन २७ लाख रुपैयाँ खर्च भएको उमेशका पिता शिवराम न्यौपानेले बताए। ‘यहाँ गणेश मन्दिर बनाउने छोराको चाहना थियो’, न्यौपानेले भने, ‘त्यसैले हामीले उमेश विनायक मन्दिर बनाएका हौं।’
मन्दिर बनाउन सुरु गर्ने बेलामा वडा कार्यालयले एक लाख रुपैयाँ सहयोग गरेको थियो। बाँकी सबै रकम न्यौपाने परिवारले आफैं खर्च गरेको हो।
मन्दिर छेउमा खानेपानीको सार्बजनिक धारो छ। त्यसलाई पनि थप व्यवस्थित गर्ने योजना छ।