निषेधाज्ञामा कामविहीन बनेर अनिकालको सामना गरिरहेका चितवनका चेपाङ समुदायले खाद्यान्न सहयोग पाएका छन्।
कालिका नगरपालिका-११ सैपामका ६७ परिवारलाई शुक्रबार खाद्यान्न सहयोग गरिएको हो।
निषेधाज्ञाको समयमा गाउँमा अनिकाल सुरू भएको समाचार सञ्चारमाध्यमहरूमा आएपछि मारवाडी सेवा केन्द्र नारायणगढ सहयोग सामग्री बोकेर गाउँ पुगेको थियो।
केन्द्रले सैपामका सबै परिवारलाई १५ किलो चामल, २-२ किलो दाल र चना, एक किलो नुन, एकल लिटर तेल र एक प्याकेट मस्यौरा उपलब्ध गराएको थियो।
केन्द्रका अध्यक्ष दुलिचन डागाले चेपाङ बस्तमिा खाद्यान्न अभाव भएको खबर पाएपछि सहयोग गरेको जानकारी दिए।
खाद्यान्न बुझ्दै ७४ वर्षीया फूलमाया चेपाङले केही दिनका लागि खानाको जोहो भएको बताइन्। कोरोना महामारीसँगै फूलमाया र उनका श्रीमान् शेरबहादुर चेपाङसँगै सैपाम गाउँका बासिन्दाले भोगेको समस्याको विषयमा सेतोपाटीमा समाचार प्रकाशन भएको थियो।
‘दस दिनजतिको गर्जो त अब टर्ने भो,’ फूलमायाले भनिन्, ‘यति सहयोग पाउँदा धेरै खुसी लागेको छ।’
दैनिक ज्यालादारी गरेर भएको कमाइले गुजारा चलाउँदै आएका बासिन्दा कामविहीन बनेसँगै समस्यामा परेका थिए। मौज्दात रहेको खाद्यान्न सकिएपछि उनीहरू जंगली कन्दमुलको सहारामा जीवन धान्न बाध्य भएका थिए।
![](https://www.setopati.com/uploads/editor/featured_images/2021-06-02/20210604170337_IMG_3287.JPG)
स्थानीय गणेश चेपाङले हुर्कँदै गरेको मकैसमेत फौजी किराले खान थालेको भन्दै यो वर्ष थप समस्यामा आइपर्ने चिन्ता बढेको बताए। यो गाउँमा सत प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ।
राहत लिएर गाउँ पुगेको मारवाडी सेवा केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उमाशंकर अग्रवालले कोरोना महामारीको प्रभाव विकट गाउँमा धेरै देखिएकाले आवश्यक सहयोग गर्दै जाने बताए। नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ र क्षेत्रीय सभापति टंकनाथ पौडेलले केन्द्रसँग समन्वयगरी उक्त गाउँमा राहत पुर्याएका थिए।
श्रेष्ठले सरकारी निकायले आवश्यक ध्यान नदिँदा जनता समस्यामा परेको बताए। उनले आइपरेका अफ्ठ्याराहरूको विषयमा जानकारी गराए पार्टीले समन्वयगरी आवश्यक सहयोग गर्ने बताए।