नेपाली सेनाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटस्थित कालिका-मालिका मन्दिर परिसरमा निर्माणमा सर्वसाधारणको सुविधाको लागि ट्रष्ट निर्माण गरेको छ।
ऐतिहासिक र धार्मिक महत्वको छिल्लीकोटको पहिचान जोगाइराख्न तथा नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउने दश लाखको लागतमा सौचालयसहित ट्रष्ट निर्माणपछि हस्तान्तरण गरिएको रणसिंह दल गण घोराहीका गणपति उज्जल केसीले सेतोपाटीलाई बताए।
‘नागरिक सैनिक सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउने नीति अनुरुप नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम अन्तर्गत भौतिक संरचना निर्माण पछि बिहीवार हामीले मन्दिर बिकास समितिलाई हस्तान्तरण गरेका छौं,’ गणपति केसीले भने, ‘भौतिक संरचना अन्तर्गत दुई वटा शौचालय निर्माण गर्न नेपाली सेनाले आँफै श्रमदान गरेको हो।’
धार्मिक तथा पर्यटकीयस्थलमा जाने सर्वसाधारण नागरिकको सुविधाको लागि सौचालय सहितको ट्रष्ट निर्माण गरिएको केसीले जानकारी दिए।
१९ नम्बर बाहिनी तुलसीपुरका बाहिनिपति सहायक रथि मदनकुमार केसीले निर्मित भौतिक संरचना कालिका मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण पुनलाई बिहीबार हस्तान्तरण गरेका हुन्।
उक्त अवसरमा तुलसीपुर १९ का वडाध्यक्ष रामबहादुर योगी र कालिका मालिका मन्दिर समितिका कोषाध्यक्ष प्रबिण पुन लगायत स्थानीय सर्वसाधारणले सर्वसाधारणको सुविधाको लागि ट्रष्ट र शौचालय निर्माण पछि हस्तान्तरण गरेकोमा नेपाली सेनाका अधिकारीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए।