गैरकानुनी रुपमा खोलानालाबाट ढुंगा-गिट्टी र बालुवा संकलन गरिरहेका टिपर ट्याक्टर र एक्साभेटर मेसिन प्रहरीले नियन्त्रणमा लिएको छ।
रुपन्देही प्रहरीले दुई दिनअघि एकैदिन २२ वटा टिपर, तीन वटा ट्याक्टर र एउटा एक्साभेटर उपकरण नियन्त्रणमा लिएको हो।
मापदण्डविपरीत एक्साभेटर मेसिन नै प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन् गरिएको पाइएपछि नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताए।
इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय छपिया र इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले ठूलो मात्रामा टिपर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका सबै सवारीसाधनलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाइएको छ।
यसैगरी, सोही दिन रुपन्देही प्रहरीले बुटवल, बेलहिया मंगलापुर, महुँबारी लगायत ठाउँबाट १० वटा टिपर नियन्त्रणमा लिएको छ।
गैरकानुनी रुपमा नदीजन्य सामग्री उत्खनन् गरेको पाइएपछि टिपरहरू नियन्त्रणमा लिएर कारबाहीको लागि पठाइएको केसीले बताए।
‘निषेधाज्ञाको बेला पनि गैरकानुनी रुपमा उत्खनन् गरिरहेको थाहा भएपछि टिपर नियन्त्रणमा लिइएको हो,’ केसीले भने।
यसैगरी, गत १२ गते इलाका प्रहरी कार्यालय मैगलापुरको टोलीले लु३त ८१८६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो।
यस्तै, बेलहियाको टोलीले लु२त २७६९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको केसीले बताए।
यसैगरी, इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले अनुमतिबिना उत्खननमा संलग्न लु२ख ९५ नम्बरको टिपर, बेलहियाकै टोलीले लु४त २०८९ र लु३त ६१५८ नम्बरको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
मझगावाको टोलीले कोटहीमाई गाउँपालिका वडा नम्बर ४ बरहदवाबाट पोखरी खनिरहेको लु१क २४१६ नम्बरको एक्साभेटर नियन्त्रणमा लिएको छ।
यो पनि पढ्नुस्: