भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दै दाङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्सहरुले प्रदर्शन गरेका छन्।
जेठ १३ गते राति भेरी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुले प्रर्दशन गरेका हुन्।
नेपाल चिकित्सक संघ दाङ शाखाको अगुवाइमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रदर्शनमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र घोराहीको बुद्ध हस्पिटलमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु सहभागी थिए।
उनीहरु दोषीमाथि कारबाहीको माग गरी प्लेकार्ड छातीमा टाँसेर बिरोधमा उत्रिएका थिए। बहानामा दोषीलाई उन्मुक्ति दिने काम भए देशब्यापी स्वास्थ्य सेवा ठप्प पार्ने चेतावानी स्वास्थ्यकर्मीहरुले दिएका छन्।
कोरोनाको महामारीमा चिकित्सक, नर्सहरुले दिनरात नभनी आफ्नो जिउ ज्यानको समेत प्रवाह नगरेर काम गरिरहेको बेला यस्ता आक्रमणका घटनाले मनोबल घटाउने काम गरेकाले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरुको माग छ।
चिकित्सकको पेशागत सुरक्षाका लागि कडा खालको कानुन ल्याउन सरकारलाई ध्यानाकर्षण गराउन दबाबमुलक कार्यक्रम गरेको नेपाल चिकित्सक संघ दाङ शाखाका अध्यक्ष डा. कुबेर रेग्मीले बताए। उनले दोषीलाई कारबाही नभए नेपाल चिकित्सक संघ कडा कदम चाल्न बाध्य हुने चेतावानी समेत दिए।