बुटवल उपमहानगरपालिकाले सोमबारदेखि कोभिड १९को निशुल्क परीक्षण सुरु गरेको छ।
मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा शुरु गरिएको सर्वसाधारणको निशुल्क परिक्षण २१ गतेसम्म जारी रहने छ।
सोमबार ६२ जनाको परीक्षण भएकोमा १४ जनामा कोरोना संक्रमण देखिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
सर्वसाधारणलाई पायक पर्नेगरी मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र उपमहानगरपालिकाको कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए।
बुटवलका सबै वडामा धेरै संक्रमित भेटिएका र संक्रमणको जोखिमपूर्ण क्षेत्र पहिचान गरी एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको उनले बताए।
महामारी विरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदायस्तरमा परीक्षण शुरु गरिएको हो।