रौतहटमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।
परोहा नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीया गुडियादेवी पासवानको मृत्यु भएको हो।
उनको आइतबार साँझ पौने ७ बजे घरबाट उत्तरतर्फ मकैबारीमा लगाइएको बिजुलीको नांगो तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठका अनुसार खेतमा बिजुलीको नाङ्गो तार लगाउने दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले ६० वर्षीय तीलाई राय यादव र ४८ वर्षीय रामविनय राय यादवलाई पक्राउ गरेको हो। उनीहरूले १२ कठ्ठा जग्गामा रहेको मकैबारी वरिपरि बिजुलीको पोलबाट नांगो तार जडान गरेका थिए।
सो तारलाई बाँसको भाटाले अल्झाएर करेन्ट प्रवाह गरी छाडेको डिएसपी श्रेष्ठले बताए। त्यसैक्रममा करेन्ट लागेर गुडियादेवी पासवानको मृत्यु भएपछि उनीहरू फरार थिए।
उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा फेला पारेर प्रहरीले पक्राउ गरेको हो।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।