ललितपुरको कोटडाँडाबाट तारमा अल्झिएको चितुवाको उद्धार गरिएको छ।
सदर चिडियाखानाको टोलीले आइतबार साँझ ललितपुरको टिकाभैरवबाट चार किलोमिटरमाथि रहेको कोटडाँडाबाट उद्धार गरेको हो।
चितुवा एकदमै दयनीय अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरञ्जीवी पोखरेलले जानकारी दिए।
उनका अनुसार पोथी चितुवाको शरीर पछाडि तार अल्झिँदा भाग्न सकेको थिएन। साँझ करिब साढे ५ देखि ६ बजेको समयमा प्रहरी र जिल्ला वन कार्यालय, ललितपुरसँगको समन्वयमा चिडियाखानाको टोलीले चितुवाको उद्धार गरेको हो।
करिब पाँच मिटरको दुरीबाट चितुवालाई डार्टले हानिएको थियो भने अल्झिएको तार फुस्काएर गाडीमा चिडियाखाना ल्याइएको थियो।
प्रमुख पोखरेलका अनुसार डेढ वर्षको चितुवा झण्डै २५ किलो तौलको छ। चितुवा फसेको तार मकैबारीमा राखिएको थियो।
तारको जाली मृग वा भालुलाई पासो थाप्न राखिएको हुनसक्ने अनुमान गरिएको छ।