निषेधाज्ञाको मौका छोपेर नक्सापास विनै घर तथा टहरा निर्माण गर्ने बढेपछि ललितपुर महानगरपालिकाले अनुगमन सुरू गरेको छ।
नियमकानुन विपरीत कुनै प्रकारका संरचना निर्माण हुन नदिन र त्यसरी नियम मिचेर बनाएको पाइए नियमानुसार कारवाही गर्न महानगरका मेयर चिरिबाबु महर्जनले निर्देशन दिएसँगै नगर प्रहरीले महानगर भित्र निर्माणाधीन संरचनाको अनुगमन गर्न सुरू गरेको हो।
ललितपुरको च्यासल, गावहाल, शंखमुल र कुमारीपाटी क्षेत्रमा हालै बिना नक्सापास धमाधम घर तथा टहरा निर्माण भइरहेको पाइएपछि निर्माणमा रोक लगाइएको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।
‘निषेधाज्ञाको मौका छोपेर धमाधम बिना नक्सा पास घरहरू बनाउन थालेको पाइएपछि हामीले अनुगमनलाई तीव्र बनाएका छौं,’ उनले भने, ‘अहिले पेलेरै घर बनाउने अनि पछि गएर तीन गुणा बढी राजश्व तिरेर नक्सापासको स्वीकृति लिने मनसायका साथ यस्तो काम भइरहेको देखिन्छ। त्यसैले यस्तो रोक्न हामीले निर्माण कार्य रोकेर केही ठाउँबाट समानसमेत जफत गरेका छौं।’
हाथेछुका अनुसार निषेधाज्ञाको अवधिमा थोरै जग्गा भएको स्थानमा बाटोतिर ‘टप’ निकाल्ने, मुद्दा चलेका जग्गामा समेत घर तथा टहरा निर्माण गर्ने प्रवृत्ति देखिएकोले यस्तो प्रवृत्ति रोक्न अनुगमनलाई तिब्रता दिएको हो।
नियम कानुनले नमिल्ने कुरालाई मिच्नका लागि अहिले निषेधाज्ञाको समयलाई प्रयोग गर्न थालेको भन्दै उनले महानगरको नक्सा शाखा बन्द छ, अर्कोतिर उजुरी गर्न पनि सहज छैन । मानिसहरु घरघरमै सीमित रहेको बेलामा पेलेरै बनाउँ न भनेर घर बनाउनेहरु बढेको बताए।
उनले मापदण्ड विपरित घर तथा टहरा निर्माण गरेको पाइएमा निर्माण सामग्री जफत गर्ने र निर्माण कार्यमा रोक लगाउने गरी वडाहरूमा नगर प्रहरी परिचालन गरिएको बताए।
‘हामी लकडाउनमा पनि दैनिक खटेका छौं। हाम्रो टोली अहिले नयाँ बनिरहेका घर-घरमा पुगेर नक्सा पास छ कि छैन, मापदण्ड पुगेको छ कि, छैन भनेर हेर्दैछ,’ उनले भने।
उनले मापदण्ड मिचेर कुनै पनि संरचना बनाउन नदिने महानगरको नीति रहेको भन्दै मेयर महर्जनले दिएको निर्देशन अनुसार नगर प्रहरी चल्ने स्पष्ट पार्दै गलत गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्नै बताए।
उनले निषेधाज्ञाको समयमा छरछिमेकले पनि महानगरको एप्स या अन्य कुनै पनि माध्यमबाट उजुरी गर्नसमेत आव्हान गरेका छन्।
‘तपाईहरूका आफ्नो टोल छरछिमेकमा मापदण्ड मिचेर घर निर्माण भइरहेको शंका लागेमा हामीलाई जानकारी दिनुहोस् हामी कानुनी दायरामा ल्याउनेछौ’, उनले भने,‘नियम कानुन सानो ठूलो कसैलाई भनिन्न सबैका लागि बराबर हुन्छ।’
यसअघि महानगरले सडकपेटी ढाकेर अव्यवस्थित रूमा निर्माण सामाग्री राख्नेलाई कारबाहीको दायरामा ल्याएको थियो।
यस्तै सडक पेटी ढाकेर निर्माण सामाग्री, पसल, टहरा राख्नेलाईसमेत हटाएर सुन्दर सफा नगर बनाउन नगर प्रहरी लागिपरेको छ।
सडकमा जथाभावी फालिएका फोहर उठाउने, शहर हराभरा बनाउने र महानगर प्रमुख चिरीबाबु महर्जनको नमूना शहर बनाउने योजनामा नगर प्रहरी अघि बढेका हुन्।
पछिल्लो समय महानगरका सडक सफा र चिटिक्क छन्। अनि छेउमा रहेका बिजुलीका पोलहरू हरियो रंगले रंगिएका छन्।
महानगरले साइकल यात्रीका लागि छुट्टै लेन बनाइएको छ। जुन उपत्यकामा ललितपुरबाहेक अन्य कही छैन।
लकडाउनको मौकामा ललितपुर महानगर मेटिएका जेब्रा क्रसिङलाई आफैं मर्मत गर्दैछ। जथाभावी सडक ओगटेर राखेका निर्माण सामाग्री हटाउनुका साथै उचित व्यवस्थापन गरेको छ।
महानगरपालिकाले ललितपुरका चक्रपथदेखि भित्री सडकको बीच र दायाँबायाँ रहेका बगैँचा सजाउनेदेखि बिजुलीका पोल सरसफाई अभियान पनि चलाइरहेको छ।
थापाथलीदेखि भैसेपाटी तथा बल्खुदेखि बालुमारीसम्मको सडक क्षेत्रका बगैँचा चिटिक्ट बनाउनुका साथै सडकमा रहेका बिजुलीका पोल, टेलिफोनका पोल तथा अन्य पोलहरू हरियो रंग पोतेर चिटिक्क बनाएको छ।
लकडाउन अगाडिबाटै सुरू गरेको यो अभियान सडकमा न्यून संख्यामा सवारी साधन चलेको फाइदा उठाउँदै घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने गरि सडकलाई सफा र बगैंचालाई चिटिक्क बनाइराख्ने अभियानलाई तिब्रता दिएको छ।
खम्बामा रङ लगाउनको कारण अर्थ्याउँदै नगरप्रमुख महर्जनले भने, ‘सहरलाई पृथक देखाउन, हरियाली प्रवर्धनमा सहयोग पुर्याउन र पोलमा जथाभावी पम्प्लेट टाँस्न आउनेलाई झस्काउन यो काम गरेका हौं।’
उनले महानगरको निर्णयलाई नटेर्नेमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएका छन्। जमिनमाथिबाट खम्बाको ६ फिटसम्म हरियो रङ लगाइएको महानगर प्रमुख महर्जनले बताए। चार फिटपछि सेतो रङको स्टिकर खम्बाको वरिपरि लगाइएको छ। ‘हरियोमा सेतो रङ हुँदा सडकमा सवारी चलाउनसमेत सजिलो हुन्छ,’ महानगर प्रमुख महर्जनले भने।
चिटिक्क परेको महानगरमा शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न नदिने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।
हाछेथुका अनुसार यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ। ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई नगरको नियम अनुसार कारवाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन अब हामी विशेष योजनाका साथमा आएका छौं।’
शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बार, बसपार्क, बस स्टपलगायतका सार्वजनिक स्थलभरि पोष्टर र पम्पेटको बिगबिगी हटाएको दाबी गर्दै उनले अब त्यसरी पोस्टर पम्प्लेट टाँसिएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए।
यसअघि महानगरले महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाउनुका साथै सडकका पेटीलाई व्यवस्थित बनाइसकेको छ।
त्यस्तै, नग्न तस्वीर राखिएका विज्ञापन र मादक पदार्थका होर्डिङ बोर्डलगायतले ऐतिहासिक संस्कृतिको थलो ललितपुर क्षेत्र कुरूप बनाएको भन्दै नगर प्रहरीले त्यस्ता बोर्डहरू हटाएर सफा बनाइसकेको छ।
शहरलाई सफा र सुन्दर बनाउने लक्ष्य राखेर ललितपुर नगरप्रहरीको नेतृत्व गरेका हाछेथुले भने, ‘सरकारले बनाएको कानुन अनुसार सबै बोर्ड हटाएँ, साइकल गस्ती र साइकल लेन बनाएँ, नगर चेतना अभियान चलाइरहेको छु, अहिले हाम्रो महानगरपालिका सफा छ। यस्तो बेला पर्चा पम्प्लेट टाँसेर कुरुप बनाएको सहर सफा गर्ने अभियानमा छु।’
यस्तै ललितपुर महानगरपालिका भित्रका सडकमा राखिएका ‘स्पिड ब्रेकर’ महानगरले हटाइसकेको छ।
महानगर भित्रको सवारी चापलाई व्यवस्थित गर्न विभिन्न ठाउँमा वान वे समेत बनाइसकेका उनले अब लडाउन खुलेपछि पनि पहिलेको जस्तो ट्राफिक चाप नहुने बताउँछन्।
‘हामीले ललितपुर महानगर भित्रका पाटनढोका, महापाल अगाडि लगायतका ठाउँमा वान वे बनाएर सवारी चाप न्यूनिकरणको अभ्यास गरिसकेका छौं’, उनले भने,‘पुरातात्विक ललितपुर महानगरपालिकालाई देशकै सुन्दर र नमूना महानगरपालिका बनाउने सोचमा छु, नगर प्रहरीलाई पनि नेपालको एक नम्बर नगर प्रहरी बनाउँछु।’