नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले माग गरेको छ।
अध्यक्ष डा. नवराज केसी र महासचिव डा. केएन पौडेलले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दोषीलाई आवश्यक कारबाहीको माग गरेको हो।
‘संसारभरि कोरोना महामारीको दोस्रो लहर फैलिएको छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको प्रवाह नगरी निरन्तर सेवा दिइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘भेरी अस्पतालको आइसियू कक्षमा केही अमानवीय तत्वहरूले कानुनी राज्यको धज्जी उडाउँदै गरेको आक्रमणप्रति यो संघ दुखी बनेको छ।’
दोषीलाई कानुन अनुसार मुद्दा चलाएर सजाय दिलाउन संघले माग गरेको छ।
दोषीलाई गैरजमानती हिरासतका नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने माग गरिएको छ।
बिहीबार राति ८ बजे बिरामीको मृत्यु भएपछि भेरी अस्पतालका चिकित्सक र नर्सिङ स्टाफमाथि आफन्तले कुटपिट गरेका थिए।
उनीहरूले अस्पताल तोडफोड समेत गरेका थिए।
घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तुलसीपुर उपमहानगरपालिका–११ का मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
उनका दाइ ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई कोरोना देखिएको थियो।
उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।