धनगढी उपमहानगरपालिकाले कोरोनाविरूद्धको खोप खरिदका लागि संघीय सरकारसँग अनुमति मागेको छ।
नगरबासीलाई खोप लगाउन नगरप्रमुख नृप बहादुर वडले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै खोप खरिद गर्न अनुमति दिन आग्रह गरेका हुन्।
कोभिड-१९ विरूद्धको खोप चाँडोभन्दा चाँडो उपलब्ध गराउन नगरबासीको मागअनुसार तयारी गरिएको उनले बताए।
‘सरकारले अनुमति दिए हामी खोप खरिद गरी लगाउन सक्छौं,’ उनले भने।
सरकारले तोकेको मूल्य र मापदण्डअनुसार नै खोप खरिदका लागि सरकारले अनुमति दिए आवश्यक बजेट उपमहानगरपालिकाले दिने उनले बताए।
धनगढी उपमहानगरपालिकाले मेयर कल्याणकारी कोष स्थापना गरी संकलन भएको रकमबाट वडा नम्बर ७ बेलीमा अक्सिजन प्लान्ट स्थापना गरिरहेको छ। त्यसका लागि संरचना निर्माण सुरू भएको वडले जानकारी दिए।
उपकरण खरिदको प्रक्रिया सुरू भैसकेको उनले बताए।