शुक्रबारदेखि जारी निषेधाज्ञालाई थप कडा पारिएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लाले शुक्रबारदेखि निषेधाज्ञालाई थप कडा पार्ने निर्णय गरेको थियो। सोही निर्णयको पालना गर्न बिहानैदेखि सुरक्षाकर्मीहरू खटिएका छन्।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले आदेशअनुसार नै निषेधाज्ञालाई कडा पारेको बताए।
'संक्रमणलाई नियन्त्रणमा लिन र जनताको स्वास्थ्यलाई ख्यालमा निषेधाज्ञालाई प्रभावकारी बनाउन भनेर तीन जिल्लाका सुरक्षाकर्मी बिहानैदेखि परिचालन भएका छन्,' एसपी राठौरले भने,'अब कारबाही गर्ने कुरा समेत छ।'
प्रशासन कार्यालयले मंगलबार जारी गरेको आदेशमा किराना, खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णण गरेको थियो।
त्यस्तै, तरकारी, माछा-मासु, दूध पसल भने बिहान ९ बजेसम्म खोल्न दिइएको एसपी राठौरले बताए।
विभिन्न ठाउँमा प्रहरीको गस्ती समेत गरिएको छ।
उनका अनुसार शुक्रबारदेखि जारी हुने थप निषेधाज्ञाबारे विभिन्न तरिकाले प्रचारसमेत गरिएको हो।
केही दिनदेखि नै माइकिङ गरिएको, मिडियामार्फत् जानकारी गराइएको उनले बताए।
'सुरूमै हामीले विभिन्न ठाउँमा माइकिङ गरेर मानिसहरूलाई जानकारी गरायौं। आजदेखि त लागू नै भयो। विभिन्न ठाउँमा चेकपोइन्टहरू राखेका छौं,' उनले भने,'मास्क नलगाउने, अनावश्यकरूपमा हिँड्डुल गर्ने लगायतलाई अलि बढी समय होल्ड गर्नेदेखि जरिवाना तिराउनेसम्म गर्ने निर्णयहरू भएका छन्। अहिले कति जना कारबाहीमा परेका छन् तथ्यांक संकलन हुँदैछ।'
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा समेत कडाइ गरिएको छ। निर्माण सामग्री बोकेर उपत्यका प्रवेश गर्ने सवारीसाधलाई पनि रोक लगाइएको एसपी राठौरले बताए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान ११ बजेसम्म दुबै चार पाङ्ग्रे र दुई पाङ्ग्रे गरी जम्मा ९ सय १४ वटा सवारीसाधन कारबाहीमा परेका छन्। ती सवारीसाधनलाई प्रहरीले होल्ड गरेर राखेको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले पनि उपत्यकाका प्रशासनको आदेश अनुसार नै ट्राफिक प्रहरी परिचलन गरेको बताए।
'पहिले गरेजस्तै चेकिङ गरेका हौं। जसरी आदेश जारी भएको हो त्यसरी नै चेकिङ गरिएको हो,'उनले भने,' आजबाट जारी नयाँ आदेशकै पालना गरिएको हो।'
उनका अनुसार उपत्यकामा ८२ ठाउँमा ट्राफिक चेकिङ गरिएको छ। त्यस्तै, महाशाखा मातहतबाट दिनभर १४ सय ८१ ट्राफिक प्रहरीहरू खटिएका छन्।
शुक्रबारदेखि लागू भएको निषेधाज्ञा एक हप्ता जारी रहनेछ।