गैंडा मारेको अभियोगमा दस वर्ष पहिले कैद फैसला भएका एक फरार व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।
चितवनको कालिका नगरपालिकाको सैपाङ घर भएको विन्द्र सिंह भन्ने सागर प्रजालाई शुक्रबार पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।
उनलाई तनहुँको ब्यास नगरपालिका–११ स्थित घाँसीकुवाबाट पक्राउ गरिएको बरालले बताए।
२०६७ सालको पुस १९ गते निकुञ्जको कोर इलाका धोबाहा रतनीघाटमा वयस्क भाले गैंडालाई गोली प्रहार गरी खाग तस्करी गरेको अभियोगमा प्रजाविरुद्ध २०६७ साल चैत २७ गते मद्दा दर्ता गरिएको थियो। त्यतिखेर चितवन निकुञ्जमा प्रजासँगै १९ जनाविरुद्ध एकैचोटी गैंडा तस्करीको मुद्दा दर्ता भएको थियो।
२०७२ साल असार ३० गते भएको फैसलामा उनलाई १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा उच्च अदालत पाटन-हेटौडाको संयुक्त इजलासमा २०७४ फाल्गुन १५ गते भएको पुनरावेदनबाट समेत सोही सजाय सदर भएको थियो।
निकुञ्जमा मुद्दा दर्ता भएर अदालतले फैसला गरिसक्दा पनि प्रजासँगै सोही मुद्दाका ७ जना फरार रहँदै आएका थिए।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले प्रजा २०६०-०६१ पछि लगातार गैंडा चोरी सिकारमा संलग्न रहेको पाइएको र उनलाई गैंडा मार्ने र खाग बिक्री गर्नेलगायत ३ वटा मुद्दाहरुमा दोषी ठहर गरिएको बताए। उनले कम्तीमा पाँच वटा गैंडा मारेको अधिकारीले बताए।
निकुञ्जकाअनुसार प्रजा आफ्नो स्थायी घर ठेगाना छाडेर विभिन्न बहानामा लुकिछिपी गर्दै गैंडा तस्करीमा संलग्न रहँदै आएका थिए। उनी आफूलाई ठूलो कान्छा प्रजा, विन्द्रा प्रजा, सागर प्रजालगायतका नामहरुबाट सिकार कारोबारमा संग्लन भएको पाइएको अधिकारीले बताए।
यस आर्थिक वर्ष २०७७-७८ मा यो सँगै गैंडा मुद्दामा २५ जना पक्राउ परेका छन्। उनीहरुमध्ये ४ जना अदालतले सजाय तोकेपछि पनि फरार रहेकाहरु हुन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले कोरोना संक्रमणको त्रास, निषेधाज्ञा र अस्थिर राजनीतिको प्रभाव सबैतिर पर्दैगर्दा निकुञ्जभित्र यसको असर नपरोस् भनेर सतर्क रहँदै आएको बताए। ‘यही समयमा हामीले ठूला तस्कारहरुलाई समातेका छौं,’ उनले भने, ‘अस्थिरताको फाइदा उठाएर वन र वन्यजन्तुमाथि आक्रमण गर्ने पुरानो चलन हो। हामी यसप्रति सजग बनेर लागेका छौं।’
उनले फरार रहेका तस्कारलाई समाउनुका साथै नयाँ घटना हुन नदिन सजग बनेको बताए। सूचना अधिकारी लोकेन्द्र अधिकारीले तस्करी नियन्त्रणका लागि निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीहरु खटिरहेको बताए। साथै, ड्रोन क्यामेराको माध्यमबाट पनि विभिन्न क्षेत्रको अवलोकन गर्ने गरिएको उनले बताए।