मोरङको सुन्दरहरैंचा नगरपालिका-३ का एक व्यक्तिको सुतेकै ठाउँमा हत्या गरिएको छ।
४० वर्षीय विष्णु ऋषिदेवको सुतैकै ठाउँमा शुक्रबार बिहान हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घाँटीमा धारिलो हतियार प्रहार गरेर ऋषिदेवको हत्या गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
ऋषिदेव गछिया खोला छेऊको ऐलानी जग्गामा एक्लै बस्दै आएका थिए। टिनको छानो र टाटीको बेरा लगाएर बनाइएको झुप्रोमा उनी बस्थे।
बिहान अवेरसम्म उनी बाहिर ननिस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान भइरहेको खड्काले बताए। घटनास्थल सुरक्षित गरी प्रहरीले अनुसन्धान अधिकृत खटाएको छ।