काठमाडौं महानगरपालिकाले परीक्षण गरेकामध्ये २६ प्रतिशतमा मात्रै कोरोना संक्रमण देखिएको छ।
जेठ १, २ र ३ गते महानगरले विभिन्न वडाहरूमा एक हजार २ सय ९४ जनामा कोरोना परीक्षण गरेको थियो। यी तीन दिनमा गरेको परीक्षणमा ३ सय ४६ जनामा कोरोना देखियो। यो जम्मा २६ प्रतिशत हुन आउँछ।
महानगरका स्वास्थ्य सेवा विभागका स्वाब कलेक्सन संयोजक ऋषि प्रसाद भुषालका अनुसार यो तथ्याङ्क वडाले गर्ने कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएका मानिसमा गरेको परीक्षण हो।
'अहिले हामीले वडा-वडामा गएर कन्ट्याक्ट ट्रेसिङमा परेका वा लक्षण देखिएकालाई मात्रै परीक्षण गरेका छौं। यो महिनाका सुरूआती तीन दिनमा झण्डै १३ सयको पिसिआर गर्दा ३५० मा कोरोना देखिएको छ,' उनले भने, 'कतिपय मिडियाले महानगरमा परीक्षण गरेकामध्ये ७० प्रतिशतमा कोरोना देखियो भनेर लेखेका समाचारमा सत्यता छैन। जम्मा २६ प्रतिशतमा मात्र देखिएको छ।'
भुषालका अनुसार हरेक वडाले संक्रमितको सबभन्दा नजिक बसेकालाई कन्ट्याक्ट ट्रेसिङ गर्ने गरेको छ।
महानगरको कुनै ठाउँमा कोही व्यक्ति संक्रमित भयो भने त्यो ठाउँमा वडाले सुरूमा कन्ट्याक्ट ट्रेसिङ गर्छ। यसरी १५ जनाभन्दा बढी कन्ट्याक्ट ट्रेसिङमा परे भने उक्त ठाउँमै वडा र महानगर गएर स्वाब संकलन गर्छन्। त्योभन्दा कम भएमा स्वाब संकलन गर्ने नजिकै तोकिएको ठाउँमा गएर स्वाद दिनुपर्ने व्यवस्था महानगरले गरेको छ।
पहिले-पहिले महानगरभित्र विभिन्न पाँच सात ठाउँमा मात्रै स्वाब संकलन गरिन्थ्यो। अहिले भने बढाएर १५/१६ वटा स्वाब संकलन केन्द्र बनाइएको छ।
'तोकिएको ठाउँमात्र होइन कुनै ठाउँमा १५ जना भन्दा बढीलाई जाँच्नु पर्यो भने हामी त्यहीँ गएर स्वाब लिइदिन्छौं,' भुषालले भने।
काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले महानगरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले सबैलाई सुरक्षित बस्न आग्रह गरेका छन्।
महानगरले संक्रमितको उपचारको सक्दो प्रयास गरेको उनले बताए।
'महानगरबासी सुरक्षित बसिदिनु पर्यो। मास्क अनिवार्य लगाउने गर्नुपर्यो। हामी पनि उपचार अक्सिजन लगायतको व्यवस्था गर्ने प्रयास गरिरहेका छौं,' उनले भने।
उनले अहिले कोरोना विरूद्धको खोप लगाउने अभियान चलिरहेकाले त्यो सकिएपछि कोरोना परीक्षणको दायरा बढाउने बताए।
'अहिले खोप अभियान चलिरहेको छ। यो सकिएपछि कोरोना परीक्षणको दायरा बढाउने कि भन्ने छ। हामीले स्वास्थ्यकर्मी पनि नयाँ नियुक्ति गरिरहेका छौं,' उनले भने।