अहिले सबैलाई एउटै समस्या छ- उपत्यकाका कुन अस्पतालमा आइसियू खाली होला भनेर थाहा पाउने। किनभने पछिल्लो समय अस्पतालहरूको आइसियू भरिएको खबर मात्र आइरहेका छन्।
यसले गर्दा अहिले धेरैलाई एउटै समस्या छ। त्यो भनेको आपत पर्दा बिरामीलाई कुन अस्पतालमा लाने? सोच्दासोच्दै, अस्पतालहरूलाई फोन घुमाउँदा घुमाउँदै कहिलेकाहीँ ढिला भएर दुःखद् घटना हुनसक्छ। तर अब उपत्यकाका कुन अस्पतालमा, कति वटा आइसियू खाली छ भनेर स्वास्थ्य मन्त्रालयको तथ्यांक हेरेर थाहा पाउन सकिने छ।
यसअघि मन्त्रालयले नियमित विवरणमा खाली अस्पतालमा कति जना मानिस आइसियू र भेन्टिलेटरमा उपचाररत छ भनेर मात्र उल्लेख गर्ने गरेको थियो। तर हिजो सोमबार जारी गरेको विवरणमा भने अस्पतालहरूको कुल आइसियू र भेन्टिलेटर क्षमता कति हो? त्यसमा कति जना बिरामीहरू उपचाररत छन् लगायत विवरण जारी गरेको छ।
साथै, मन्त्रालयले आइसोलेसन बेड क्षमता र त्यसमा कति जना बिरामी भर्ना छन् भन्ने पनि तथ्यांक समावेश गरेको छ। अब यो तथ्यांक हेरेर जो कोहीले कुन अस्पतालमा कति वटा आइसियू, भेन्टिलेटर र आइसोलेसन बेड खाली छ भनेर सहजै थाहा पाउन सकिन्छ।
यदि सिधै फोन गरेर आइसियू वा भेन्टिलेटरबारे सोध्न परे मन्त्रालयले ११३३ को हटलाइनमा फोन गरेर पनि सोध्न सकिने जनाएको छ। तर मन्त्रालयले जारी गर्ने उक्त तथ्यांक कसरी खोज्ने भन्ने हुनसक्छ।
यदि तपाईंले फेसबुकमा गएर Ministry of Health and Population टाइप गर्नुभयो भने त्यहाँ स्वास्थ्य मन्त्रालयको आधिकारिक पेज आउँछ। उक्त पेजलाई स्क्रोल गर्दै जानुभयो भने मन्त्रालयले दैनिक संक्रमणको विवरण हालेको हुन्छ। त्यहीँ फोटोहरूलाई हेर्दै जानुभयो भने उक्त विवरण भेटाउन सक्नुहुनेछ।
यसअघि भने मन्त्रालयले खालि अस्पतालहरूमा कति बिरामी छन् भनेर मात्र तथ्यांक दिँदा मानिसहरूलाई अप्ठ्यारो भएको थियो। तर अब मन्त्रालयले नियमित उक्त विवरण जारी गरे यसले धेरै नै सहज हुनेछ।