त्रिभुवन राजपथस्थित नामटारबाट हेटौडा आउँदै गरेको मालबाहक ट्रकमा एक सय किलो गाँजा फेला परेको छ।
मकवानपुर प्रहरीका अनुसार ना२ख ९८६२ नम्बरको ट्रकबाट एक क्वीन्टल गाँजा बरामद भएको हो।
सोमबार बिहान मकवानपुरबाट खटिएको प्रहरीले गाँजासहितको ट्रक र तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-५ का ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालिका-९ का ४१ वर्षीय राजकुमार तामाङ र कैलाश गाउँपालिका-१० का ३६ वर्षीय सुविन रुम्बा छन्।
ठाडामगर ट्रकका चालक हुन्। तामाङ र रुम्बा गाँजा ओसारपसारमा संलग्न व्यक्ति रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
उनीहरूलाई लागुऔषध मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको राठौरले बताए।