दाङमा एक दिनको फरकमा बाबु-छोराको मृत्यु भएको छ।
दाङको बबई गाउँपालिका वडा नं. ४ कञ्चनपुरका ३३ वर्षीय पत्रकार लक्ष्मण बस्नेत कोरोना भाइरसका कारण सोमबार दिउँसो १ बजेतिर भैरहवामा मृत्यु भएको छ।
रेडियो हापुरेका संस्थापक स्टेसन म्यानेजर तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य बस्नेतका बुवा ५५ वर्षीय टोपबहादुर बस्नेतको मृत्यु एक दिन अगाडि आइतबार बेलुकी ७ बजेतिर भैरहवामै भएको थियो।
उनीहरू बाबु-छोरा झन्डै १५ दिन अगाडि उपचारका लागि भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा भर्ना भएका थिए।
अस्पताल प्रशासनका अनुसार बुवा टोपबहादुरको निधन भएकै दिन जेठ २ गते रिपोर्ट नेगेटिभ आएको थियो। छोरा लक्ष्मणको त्यो भन्दा केही दिन पहिले नै रिपोर्ट नेगेटिभ आएको थियो।
जेठ २ गते बुवा टोपबहादुरको मृत्यु भएपछि शव कञ्चनपुरस्थित गाउँ पुर्याउँदा मध्य रात भइसकेको हुँदा जेठ ३ गते बिहान मात्रै दाहसंस्कारका लागि घाट लगिएको थियो।
जेठ ३ गते दिउँसो नै उनका छोरा तथा पत्रकार लक्ष्मणको मृत्यु भएको थियो।
यसअघि दाङका अर्का पत्रकार दामोदर अधिकारीको कोरोनाका कारण मृत्यु भएको थियो।