अक्सिजनको अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोडेको छ।
नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेकाले कोभिडका नयाँ बिरामी लिन नसकिने सूचना अस्पतालले निकालेको छ।
प्रदेश अस्पतालमा दैनिक ३०० सिलिन्डर आवश्यक पर्छ। त्यसको आधा मात्रामा अक्सिजन आपूर्ति हुँदै आएकोमा केही दिनदेखि त्यो पनि आउन छोडेको अस्पताल प्रमुख डा. डम्मर खड्काले बताए।
अस्पतालमा जडान गरिएका दुई वटा प्लान्टबाट बिरामीलाई सामान्य मात्रामा अक्सिजन दिन मिलेको उनले बताए।
यदि हाइफ्लो अक्सिजन दिनुपरेमा भने सिलिन्डर नै चाहिने भएकाले बिरामी भर्ना लिन नसकिएको डा. खड्काले बताए।
कर्णाली प्रदेश अस्पतालमा अहिले नै १०० को हाराहारीमा कोभिडका बिरामी छन्।
अस्पतालमा जनशक्ति र बेडको पर्याप्तता भए पनि अक्सिजनको अभावले बिरामी भर्ना लिन नसकिएको उनले बताए।