नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनको लागि सिलिन्डरहरू लगेको भन्ने आरोपमा कुनै सत्यता नभएको प्रहरी महानिरीक्षकको सचिवालयले स्पष्ट पारेको छ।
शुक्रबार महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै त्यस आरोपमा कुनै सत्यता नभएको बताएका छन्।
'नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिन्डरहरू लैजाने गरेको भन्ने जस्ता कपोलकल्पितः आरोपमा कुनै सत्यता नभएको प्रष्ट गर्दै यस विषम घडीमा पनि निष्ठतापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाईनु, सामाजिक संजालमा प्रचार र प्रचारित हुनु आफैंमा दुःखद रहेको छ,' विज्ञप्तिमा भनिएको छ।
त्यस्तै भ्रामक सूचनाहरूको विश्वास नगर्न भन्दै सचिवालयले आग्रह गरेको छ।
बिहीबार काठमाडौंको ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेलले फेसबुकमा एक स्ट्याटस लेखेका थिए। जसमा प्रहरीका उच्च अधिकारीहरूले नै अक्सिजन लग्दा ट्रमा सेन्टरले पाउनुपर्ने अक्सिजन नपाएको उल्लेख गरेका थिए।
उनले अक्सिजन कम्पनीका मालिकसँग भएको कुराकानी आफ्नो स्टाटसमा लेखेका थिए। प्लान्टका मालिकले अक्सिजन 'ठूला पुलिस' ले लगेको भनेको कुरा पौडेलले उदृत गर्दै लेखेका थिए।
प्रहरीले यस भनाइलाई आवेगमा लेखिएको बताएका छन्।
'नेपाल प्रहरी विरूद्धका केही व्यक्तिगत आवेगमा लेखिएका भनाई र सत्यरहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचारप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यान आकृष्ट भएको छ, ‘प्रहरीको विज्ञप्तिमा लेखिएको छ,' पीडाको यस घडीमा १ जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठानी खटिएका प्रहरीका तमाम कर्मचारीले निर्वाह गरेको कर्तव्यपालनका सम्बन्धमा नै सर्वसाधारणलाई गलत सन्देश पुग्ने प्रकृतिका सूचना सम्प्रेषण हुनु सर्वथा अनुचित रहेको छ।'
हाल प्रहरी अस्पतालमा २०८ जना कोरोना भाइरसका संक्रमितलाई निःशुल्क उपचार गराइरहेको सचिवालयले जनाएको छ।
प्रहरी अस्पताललाई चाहिने अक्सिजन शंकर अक्सिजन प्लाण्ट, बालाजुबाट नै ल्याउने गरेको छ। सिसिएमसीले हाल नेपाल प्रहरी अस्पताललाई दुई सय सिलिन्डरको कोटा तोकेको छ। तर तोकिएको भन्दा पनि न्यून मात्र अक्सिजनबाट अस्पताल सञ्चालन गरिरहेको सचिवालयले बताएको छ।
नेपाल प्रहरीले पनि विभिन्न ठाउँबाट अक्सिजनको खोजी गरी अस्पताललाई बुझाउने गरेको छ।
अहिलेसम्म ७ हजार भन्दा बढी उपयोगी अक्सिजन सिलिन्डरहरू नियन्त्रणमा लिएर देशभरका अस्पतालहरूलाई वितरण गरेको प्रहरीले जनाएको छ।