चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको आदेशमा निषेधाज्ञा लम्बाइएको जनाइएको छ।
यसअघि वैशाख १६ गते देखि ३१ गते(भोलि) रातिसम्मका लागि निषेधाज्ञा थियो। यो अवधिमा जिल्लामा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा थप लम्ब्याउने निर्णय गरेको हो।
चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या बिहीबार ३ हजार २९९ पुगेका छ। यहाँका अस्पतालमा अहिले ४७० जना संक्रमितको उपचार चलिरहेको छ। पछिल्लो चौबीस घन्टामा मात्रै ८ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले संक्रमणको जोखिम बढ्दो क्रममा रहेको भन्दै आदेशको अवज्ञा नगर्न सचेत गराएको छ। आदेशको कार्यान्वयनमा बाधा हुनेगरी कुनै कार्य भए संक्रमक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने प्रशासनले उल्लेख गरेको छ।