कोरोना संक्रमण भएर नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्यलाभपछि बुधबार डिस्चार्ज भएका छन्।
भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर फर्केपछि शाहलाई कोरोना संक्रमण भएको थियो।
उनको उपचारमा संलग्न वरिष्ठ फिजिसियन तथा कार्डिओलोजिष्ट डा. जेपी जैसवालले बुधबार पूर्वराजा शाहलाई डिस्चार्ज गरिएको बताए।
डिस्चार्ज भएसँगै शाह आफ्नो निजी निवास निर्मल निवास फर्किएका छन्।
उनीसँगै भर्ना भएकी पूर्वरानी कोमल शाह उपचारमै छिन्। उनलाई आइसियूबाट साधारण बेडमा सारिएको छ।
‘उहाँले क्रमश: स्वास्थ्यलाभ लिइरहनुभएको छ, अहिले साधारण बेडमा उहाँलाई प्रतिमिनेट तीन लिटरसम्म अक्सिजन दिइएको छ,’ जैसवालले भने।
उनीहरूसँगै भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा पनि निको भएकी छिन्। तर, अस्पतालले उनलाई डिस्चार्ज दिइसकेको छैन।
‘उहाँ आमाको रेखदेखमा बस्नुभएको छ, कोमलको पिसिआर रिपोर्ट संकलनपछि दुबैलाई सँगै डिस्चार्ज गरिने छ,’ जैसवालले भने।
पूर्वरानी कोमललाई श्वासप्रश्वासमा अत्यधिक समस्या देखिएपछि आइसियू भर्ना गरिएको थियो। प्लाज्मा थेरापी र अक्सिजनको सहायताबाट उनको उपचार भइरहेको थियो।