टिकापुर अस्पतालमा अक्सिजनको व्यवस्थापन गर्न स्थानीय स्तरबाटै आर्थिक सहयोग अभियान सुरु भएको छ।
टिकापुर अस्पताल, टिकापुर उद्योग वाणिज्य संघ र टिकापुर सरोकार समूहले संयुक्त रुपमा अक्सिजन खरिदका लागि अभियान चलाएका हुन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक रावलले अक्सिजन अभाव हुन नदिन अभियान चलाइएको बताए। उनले जनस्तरबाटै सुरु गरिएको अभियानका लागि विद्यालय, नागरिक र विदेशमा रहेका नागरिकले आर्थिक सहयोग दिन थालेको बताए।
‘दुई दिन अक्सिजनको हाहाकार नै भएपछि अहिले नागरिक स्तरबाटै सहयोग आउन थालेको छ,’ उनले भने।
कोरोना संक्रमितको ज्यान जान थालेपछि चलाइएको उक्त अभियानमा स्थानीय विद्यालयहरुबाट २ लाख ९४ हजार रुपैयाँ जुटाइएको छ। ती विद्यालयहरुले ३ हजार २ सय देखि ४० हजारसम्म सहयोग गरेको रावलले बताए।
उनका अनुसार अभियान चलाइएको तीन दिनमा २५ लाख रकम जम्मा भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले टिकापुर अस्पताललाई आफ्नै अक्सिजन प्लान्ट जडान गर्न भन्दै ८० लाख रुपैयाँ दिएको छ।
उक्त रकमबाट बन्ने प्लान्टले दैनिक २० लिटर मात्रै भर्न सक्ने भएपछि अस्पताललाई स्थानीय तहहरुले पनि बजेट थपेर त्यो भन्दा बढी क्षमताको प्लान्ट जडानको प्रकृया सुरु गरिएको छ।
‘सुरुमा ८० लाखको प्लान्ट जोड्न टेण्डर निकालेका थियौं । त्यो रद्द गरेर अहिले जानकी गाउँपालिकाले १५ लाख र टिकापुर नगरपालिकाले २० लाख बजेट दिएपछि त्यो भन्दा बढी क्षमताको प्लान्टका लागि टेन्डरमा जाने तयारी गरिएको छ,’ उनले भने।