कैलालीमा जारी निषेधाज्ञाको अवज्ञा गरेर संचालन भएका ४ वटा बसका चालकलाई ६–६ हजार जरिवाना तिराइएको छ।
सोमबार बिनापास यात्रु भरेर धनगढीदेखि काठमाडौं जान लागेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
सुदूरपश्चिम यातायातको ना ७ ख ५२६३ नम्बरको बस र चालक धनगढी उपमहानगरपालिका–१ का ४० वर्षीय अजय स्वार तथा ना ८ ख ४९९७ नम्बरको बस र चालक धनगढीकै वडा नम्बर २ बस्ने ३२ वर्षीय मनोज खड्कालाई नियन्त्रणमा लिइएको थियो।
यसैगरी ना ७ ख ४१४ नम्बरको बस र चालक गौरीगंगा नगरपालिका–६ का ३४ वर्षीय ईन्द्रबहादुर कडायत र ना ७ ख ४०२ नम्बरको बससहित धनगढी ३ का ४८ वर्षीय चालक चिरिन्जिवी डंगोललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैललाीका प्रहरी नायव उपरिक्षक भरत चौधरीले जानकारी दिए।
उनीहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाइएको थियो।
नियन्त्रणमा लिएका ४ जना बस चालकलाई मंगलबार ६ हजारका दरले जरिवाना गरी छोडिएको प्रहरी नायव उपरीक्षक चौधरीले बताए।