घोराहीका एक नवबिवाहित दम्पत्तिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका अविनाश राना र सिर्जना राना कुँवरले आफ्नो विवाह खर्च कटाएर अस्पतालाई नगद ५१ हजार आर्थिक सहयोग गरेका हुन्।
कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजन सिलिण्डर खरिद गर्न सहज होस भन्ने उद्धेश्यका साथ विवाह खर्च कटाइ उक्त रकम सहयोग गरेको रानाले बताए।
‘बिरामीका लागि अत्यावश्यक अक्सिजन खरिदका लागि पैंसा सहयोग गर्न पाउँदा हामी खुसी छौं,’ रानाले भने, ‘हामीले सकेजति सामाजिक उत्तरदायित्व बहन गर्यौं भन्ने महसुश भएको छ।’
नवविवाहित जोडीले प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीलाई मंगलबार ५१ हजारको चेक हस्तान्तरण गरेका हुन्।
उपकुलपति भण्डारीले कोरोना महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाई आर्थिक सहयोग गरेकोमा नवविवाहित दम्पत्तिलाई धन्यवाद दिएकी थिइन्।
यसैबीच अविनासका बुवा तथा निर्माण ब्यबसायी महासंघ प्रदेश अध्यक्ष बलिभद्र रानाले ब्यक्तिगत खर्चमा अक्सिजनसहितको २५ सिलिन्डर प्रतिष्ठानलाई प्रदान गरेका छन्।
सिलिण्डर प्रदान गर्न अध्यक्ष राना, दाङ जिल्ला उवासंघका उपाध्यक्ष रामप्रसाद पोखरेलसहित प्रतिष्ठान पुगेका थिए ।
उनीहरुले ती सिलिण्डर प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीलाई हस्तान्तरण गरेका थिए।