कोरोना महामारीको दोस्रो लहर चलिरहँदा बजारमा अक्सिजन पल्स मापन गर्न प्रयोग हुने अक्सिमिटर नै गुणस्तरहीन बिक्री वितरण हुने गरेको पाइएको छ।
चीनबाट मास्कको तुना आयात गर्दा अक्सिमिटर ल्याइने र महंगोमा बिक्री गर्ने गरेको अनुसन्धानले देखाएको हो।
यस्तो अक्सिमिटर बिक्री वितरणमा संलग्न सात व्यापारी काठमाडौंबाट मंगलबार पक्राउ गरेका छन्।
काठमाडौं प्रशासन, महानगरीय अपराध महाशाखा, औषधी व्यवस्था विभागको संयुक्त टोलीले अनुगमनका क्रममा ठूलो मात्रामा उत्पादन मिति, म्याद समाप्त मिति, खरिद-बिक्री मूल्य नभएका अक्सिमिटरसहित सात जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं-१४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक शिखर श्रेष्ठ, कुपण्डोल बस्ने थुमराज उपाध्याय, ग्वार्कोस्थित नानोटेक फर्माका सञ्चालक शेषकान्त अधिकारी, चिरायु केडी ग्रुपमा कार्यरत् पुष्कर घिमिरे, आहा इन्डस्ट्रियल कम्पनीमा कार्यरत् विराटनगर तीनपैनीका विशाल आचार्य, बागबजार बस्ने सन्तोष भण्डारी र भारत राजस्थान घर भई काठमाडौं ढुंगेअड्डा बस्ने जगदीशप्रसाद रानासरिया छन्।
महानगरीय अपराध महाशाखाका अनुसार उनीहरूको फार्मेसी तथा कम्पनीबाट ७६५ थान नक्कली अक्सिमिटर बरामद गरिएको छ।
बायोप्लस फार्मेसीबाट ८५ थान अक्सिमिटर, नोनोटेक फर्मा थापाथलीबाट २४ थान, चिरायु केडी ग्रुपबाट ९ थान अक्सिमिटर बरामद गरिएको छ।
महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार भारतीय नागरिक रानासरियाको साथबाट सबैभन्दा बढी ३९६ वटा अक्सिमिटर बरामद गरिएको छ।
भण्डारीको साथबाट ९१ थान बरामद भएको खापुङले बताए। चिराजु केडी ग्रुप प्रा.लि.ले खरिद गरेकोमध्ये १६० थान अक्सिमिटर रुपन्देहीबाट पक्राउ गरिएको छ।
‘उक्त प्रा.लि.ले रुपन्देहीमा रहेको आफ्नो शाखा कार्यालय एनके लजिस्टिकमा अक्सिमिटर पठाएको सूचनाको आधारमा रुपन्देहीको स्थानीय प्रहरीसँग समन्वय गरी बरामद गरिएको हो,’ महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भने।
अनुसन्धान अनुसार उनीहरूले बजार मूल्य ६/७ सय पर्ने अक्सिमिटर २ हजार २ सय २० रुपैयाँसम्म लिएर बेच्ने गरेको पाइएको छ।
यसरी गुणस्तरहीन अक्सिमिटर आहा इन्डस्ट्रिज कम्पनी प्रा.लि.मा काम गर्ने मोरङ विराटनगर तीनपैनी घर भई हाल काठमाडौं अनामनगर बस्ने विशाल आचार्यले चीनबाट ल्याएको बुझिएको छ।
आचार्यले डिएन्ड डी इन्टरप्राइजेज न्युरोडमार्फत् चीनबाट मास्कको तुना ल्याउँदा त्यही तुनाको बक्साभित्र लुकाएर ती अक्सिमिटर ल्याएको खुलेको छ।
‘मास्कको तुना ल्याउने क्रममा चीनबाट अक्सिमिटर तस्करी गरेर ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ,’ महाशाखाका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले भने।
त्यो कम्पनीले कहिलेदेखि यस्ता अक्सिमिटर ल्याउँथ्यो भन्नेबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।
पक्राउ परेका सबैलाई कालोबजारी ऐन अन्तर्गत अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।