प्रदेश दुईका अस्पतालहरुमा स्वास्थ्य जनशक्ति अभाव भएपछि सरकारले अस्थायी करारमा थप गरेको छ।
कोरोना महामारीको बेला बिरामीहरुलाई सेवामा असहज हुन नदिनका लागि प्रदेश सरकारले प्रदेशभरका अस्पतालहरुमा अस्थायी दरबन्दीमा थप जनशिक्त पठाएको हो।
प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधाम, पर्साको नारायणी उपक्षेत्रीय अस्पताल सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज सहितका अस्पतालहरुमा जनशक्ति थपेको हो।
प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जना जनशक्ति थप गरी प्रदेश सरकारले पठाएको मेडिकल सुपरीटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए । प्रादेशिक अस्पताल जनकपुरधाम आइसियू संचालनका लागि ६८ कर्मचारी भर्ना गरिएको मेसु यादवले बताए।
महोत्तरीको जलेश्वरमा रहेको जिल्ला अस्पतालमा २३ जना जनशक्ति थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनशक्ति थप गरिए पनि भेन्टिलेटर चलाउउने जनशक्ति भने पठाइएको छैन।
जलेश्वर अस्पतालमा ५ वटा भेन्टिलेटर जनशक्ति अभावकै कारण थन्किएको छ। नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा १९ जना थप जनशक्ति पठाइएको छ भने सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ८ जना जनशक्ति थपिएको छ।
सप्तरीको भारदह अस्पताल, पर्साको पोखरीया अस्पताल, सिरहा, जलेश्वर, मलगंवा, गौर, कलैया र लहान अस्पतालमा पनि जनशक्ति थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२/३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ जना गरी कुल ४१७ जनाको दरबन्दी थप गर्ने निर्णय गरेको थियो।
यद्यपि मन्त्रिपरिषदले गरेको निर्णय अनुसार पूर्ण रुपमा जनशक्ति थप गर्न भने अझै बाँकी रहेको मन्त्रालयले जनाएको छ।