सडक सुनसान छ। न सवारीसाधन चलेका छन्, न त मानिसको ओहोरदोहोर। संक्रमणको जोखिमका कारण अत्यावश्यक काम परेमाबाहेक मानिस घरवाहिर निस्किएका छैनन्। तर ललितपुर महानगरका नगर प्रहरी बिहान ७ बजे नै सडकमा पुगिसक्छन्। उनीहरूले सरकारलाई चुनौती दिएर लकडाउन उल्लंघन गरेका होइनन्। उनीहरू त सडकमा जथाभावी फालिएका फोहर उठाउने, शहर हराभरा बनाउने र महानगर प्रमुख चिरीबाबु महर्जनको नमूना शहर बनाउने योजनामा अघि बढेका हुन्।
पछिल्लो समय महानगरका सडक सफा र चिटिक्क छन्। अनि छेउमा रहेका बिजुलीका पोलहरू हरियो रंगले रंगिएका छन्।
महानगरले साइकल यात्रीका लागि छुट्टै लेन बनाइएको छ। जुन उपत्यकामा ललितपुरबाहेक अन्य कही छैन।
लकडाउनको मौकामा ललितपुर महानगर मेटिएका जेब्रा क्रसिङलाई आफैं मर्मत गर्दैछ। जथाभावी सडक ओगटेर राखेका निर्माण सामाग्री हटाउनुका साथै उचित व्यवस्थापन गरेको छ।
महानगरपालिकाले ललितपुरका चक्रपथदेखि भित्री सडकको बीच र दायाँबायाँ रहेका बगैँचा सजाउनेदेखि बिजुलीका पोल सरसफाई अभियान पनि चलाइरहेको छ।
थापाथलीदेखि भैसेपाटी तथा बल्खुदेखि बालुमारीसम्मको सडक क्षेत्रका बगैँचा चिटिक्ट बनाउनुका साथै सडकमा रहेका बिजुलीका पोल, टेलिफोनका पोल तथा अन्य पोलहरू हरियो रंग पोतेर चिटिक्क बनाउन थालिएको हो।
लकडाउन अगाडिबाटै सुरू गरेको यो अभियान सडकमा न्यून संख्यामा सवारी साधन चलेको फाइदा उठाउँदै घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल) मा पम्प्लेट र पोष्टर टाँस्न नदिने गरि सडकलाई सफा र बगैंचालाई चिटिक्क बनाइराख्ने अभियानलाई तिब्रता दिएको छ।
खम्बामा रङ लगाउनको कारण अर्थ्याउँदै नगरप्रमुख महर्जनले भने, ‘सहरलाई पृथक देखाउन, हरियाली प्रवर्धनमा सहयोग पुर्याउन र पोलमा जथाभावी पम्प्लेट टाँस्न आउनेलाई झस्काउन यो काम गरेका हौं।’
उनले महानगरको निर्णयलाई नटेर्नेमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएका छन्। जमिनमाथिबाट खम्बाको ६ फिटसम्म हरियो रङ लगाइएको महानगर प्रमुख महर्जनले बताए। चार फिटपछि सेतो रङको स्टिकर खम्बाको वरिपरि लगाइएको छ। ‘हरियोमा सेतो रङ हुँदा सडकमा सवारी चलाउनसमेत सजिलो हुन्छ,’ महानगर प्रमुख महर्जनले भने।
चिटिक्क परेको महानगरमा शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न नदिने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।
हाछेथुका अनुसार यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ। ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई नगरको नियम अनुसार कारवाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन अब हामी विशेष योजनाका साथमा आएका छौं।’
शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बार, बसपार्क, बस स्टपलगायतका सार्वजनिक स्थलभरि पोष्टर र पम्पेटको बिगबिगी हटाएको दाबी गर्दै उनले अब त्यसरी पोस्टर पम्प्लेट टाँसिएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिए।
‘नगर प्रहरीले अहिलेसम्म नगर भित्रका ८ हजार ७ सय ५६ वटा पोलमा रंग लगाउने काम सकिएको छ’, हाछेथुले भने,‘महानगर भित्रका ३६ किमी मध्ये ३४ किमी सडक सरसफाइ र मर्मत संहार सकियो।’
यसअघि महानगरले महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाउनुका साथै सडकका पेटीलाई व्यवस्थित बनाइसकेको छ।
त्यस्तै, नग्न तस्वीर राखिएका विज्ञापन र मादक पदार्थका होर्डिङ बोर्डलगायतले ऐतिहासिक संस्कृतिको थलो ललितपुर क्षेत्र कुरूप बनाएको भन्दै नगर प्रहरीले त्यस्ता बोर्डहरू हटाएर सफा बनाइसकेको छ।
शहरलाई सफा र सुन्दर बनाउने लक्ष्य राखेर ललितपुर नगरप्रहरीको नेतृत्व गरेका हाछेथुले भने, ‘सरकारले बनाएको कानुन अनुसार सबै बोर्ड हटाएँ, साइकल गस्ती र साइकल लेन बनाएँ, नगर चेतना अभियान चलाइरहेको छु, अहिले हाम्रो महानगरपालिका सफा छ। यस्तो बेला पर्चा पम्प्लेट टाँसेर कुरुप बनाएको सहर सफा गर्ने अभियानमा छु।’
यस्तै ललितपुर महानगरपालिका भित्रका सडकमा राखिएका ‘स्पिड ब्रेकर’ महानगरले हटाइसकेको छ।
महानगर भित्रको सवारी चापलाई व्यवस्थित गर्न विभिन्न ठाउँमा वान वे समेत बनाइसकेका उनले अब लडाउन खुलेपछि पनि पहिलेको जस्तो ट्राफिक चाप नहुने बताउँछन्।
‘हामीले ललितपुर महानगर भित्रका पाटनढोका, महापाल अगाडि लगायतका ठाउँमा वान वे बनाएर सवारी चाप न्यूनिकरणको अभ्यास गरिसकेका छौं’, उनले भने,‘पुरातात्विक ललितपुर महानगरपालिकालाई देशकै सुन्दर र नमूना महानगरपालिका बनाउने सोचमा छु, नगर प्रहरीलाई पनि नेपालको एक नम्बर नगर प्रहरी बनाउँछु।’